जेनजी आन्दोलनले कोरेको मार्गबाट एक इन्च विचलित हुँदैनौँ : रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा अङ्गभङ्ग तथा घाइते भएकाहरूको उपचार र दीर्घकालीन पुनर्स्थापनाको जिम्मेवारी राज्यले पूरा गर्नुपर्ने बताएका छन्। जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै लामिछानेले घाइतेको पूर्ण उपचारसँगै उनीहरूका परिवारको उचित हेरचाह र दीर्घकालीन पुनर्स्थापनाको दायित्व राज्यले लिनुपर्ने बताएका हुन्।
उनले जेनजी आन्दोलनलाई नेपाली इतिहासमा नयाँ जागरणको विस्फोटका रूपमा चित्रण गरेका छन्। उनका अनुसार परम्परागत राजनीतिक शैलीप्रति असन्तुष्ट युवा पुस्ता शान्तिपूर्ण रूपमा सडकमा आउनु आफैँमा पुरानो राजनीतिक संस्कारप्रतिको अस्वीकार थियो। लामिछानेले जेनजी पुस्ता डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको र आफ्नै देशमा भविष्य खोजिरहेको पुस्ता भएको उल्लेख गरेका छन्। अब युवापुस्ताले कुशासन स्वीकार नगर्ने सन्देश आन्दोलनले दिएको उनको भनाइ छ।
उनले आन्दोलन कुनै राजनीतिक दल वा नेताको स्वार्थ पूरा गर्ने माध्यम नभएको समेत बताएका छन्। जेनजी आन्दोलन पूर्णतः स्वस्फूर्त जागरण भएकाले यसको राजनीतिक लाभ लिन खोज्नु अनुचित हुने लामिछानेको चेतावनी छ। उनले आफूहरूलाई पनि निरन्तर रचनात्मक खबरदारी र निर्मम समीक्षा आवश्यक रहेको बताएका छन्। आन्दोलनका क्रममा उठेका प्रश्नको जवाफ दिने जिम्मेवारी अहिलेको नेतृत्वमाथि आएको उल्लेख गर्दै उनले भविष्यमा फेरि नागरिकले जवाफ माग्ने अवस्था आउन सक्ने बताएका छन्।
लामिछानेले नागरिकमा निराशाको भाष्य स्थापित हुन नदिनुपर्नेमा जोड दिएका छन्। नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सबै एकजुट हुनुपर्ने उनको भनाइ छ। विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको बाटोमा जेनजी आन्दोलनले दिएको सन्देशबाट आफूहरू एक इन्च पनि विचलित नहुने उनले प्रतिबद्धता जनाएका छन्।
हेर्नूहोस् विज्ञप्तिः


.gif)

.png)

