प्रधानमन्त्री बालेनले गरे सांसदहरूको तीन तहमा वर्गीकरण

भने, ‘एक्स्ट्रा अर्डिनरीले नयाँ आइडिया दिनुपर्छ’


२०८३ असोज १४ बुधबार १६:४७ बजे

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सांसदहरूको अभिव्यक्ति, क्षमता र विज्ञताका आधारमा उनीहरूलाई तीन तहमा वर्गीकरण गर्दै आफ्नो भूमिकाबारे धारणा राखेका छन्।

इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई बुधबार सिंहदरबारमा बोलाएर छलफल गरेका प्रधानमन्त्री शाहले सांसदहरूलाई ‘एभरेज’, ‘एभरेजभन्दा तल’ र ‘एक्स्ट्रा अर्डिनरी’ गरी तीन समूहमा राखेर व्याख्या गरेको एक सांसदले बताए।

छलफलमा सहभागी ती सांसदका अनुसार शाहले सामान्य तहका सांसदले कार्यक्रम तथा आयोजनाका विषयमा कुरा गर्ने, त्यसभन्दा तलको तहले अरूलाई काम गर्न निर्देशन दिने र ‘एक्स्ट्रा अर्डिनरी’ सांसदले भने नयाँ विचार, सिर्जनशीलता तथा देश विकासका योजनाबारे सुझाव दिनुपर्ने बताएका थिए।

‘इन्जिनियर भनेको एक्स्ट्रा अर्डिनरी हो। एभरेज मान्छेहरू इभेन्टको कुरा गर्छन्। त्योभन्दा तलकोले मलाई यो गर, त्यो गर भन्छन्,’ प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘एक्स्ट्रा अर्डिनरी भएकाले तपाईंहरूले आइडिया र क्रियटिभिटीको कुरा उठाउनुपर्छ। यो गरे देश बन्छ भनेर भन्नुपर्छ। तपाईंहरूको आइडियाले देश बन्छ।’

प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई औद्योगिकीकरणका लागि आवश्यक काम र योजनाबारे नयाँ विचार दिन आग्रह गरेका थिए। संसद्मा उठेका विषयमा सम्बन्धित मन्त्रालय, मन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग समन्वय गर्न सकिने बताउँदै उनले नयाँ विचार भएका सांसदलाई आफूले सहजै भेट्ने बताएका थिए।

छलफलका क्रममा शाहले केही विधेयक आउने तयारीमा रहेको जानकारी दिँदै त्यसमा सांसदहरूको सुझाव र सहयोग आवश्यक रहेको बताएका थिए। सांसदहरूले देखेको र भोगेको अनुभवका आधारमा कानुन निर्माणमा योगदान गर्न सक्ने उनको भनाइ थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७