महाकालीको झोलुंगे पुलको टावर भाँचियो : आवतजावत बन्द
कञ्चनपुर : महाकाली नदीमाथिको दोधारा चाँदनी जोड्ने झोलुंगे पुलको बीच भाग भत्किएपछि आवतजावत बन्द भएको छ।
पुलका आठ वटा टावरमध्ये नदीको बीच भागमा रहेको एउटा टावर भत्किएपछि पुलको बीचको भाग नदीमा खसेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिए।
भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ र दोधारा चाँदनीतर्फबाट तेस्रो नम्बरको भाग भत्किएको हो। उक्त पुलबाट मोटरसाइकल तथा पैदल यात्रु आवतजावत गर्दै आएका थिए। बिहान करिब ४–५ बजे पुलको एक भाग अस्वाभाविक रूपमा माथि उठेको स्थानीयले जानकारी दिए।
त्यसबारे प्रहरीलाई जानकारी गराइएको भए पनि करिब ८ बजेतिर उक्त भाग नदीमा खसेको हो। पुल भत्किएपछि दोधारा चाँदनी र महेन्द्रनगरबीचको छोटो आवतजावत मार्ग बन्द भएको छ। अब स्थानीयले करिब दुई किलोमिटर माथि पुगेर पक्की पुलमार्फत यात्रा गर्नुपर्ने भएको छ।
अहिले महाकाली नदीमा करिब ६५ हजार क्युसेक पानी रहेको प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए। भत्किएको पुलको अवस्थाबारे निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारी कोइरालासहितको टोली घटनास्थल पुगेको छ।
सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयबाट प्राविधिक टोलीसमेत बोलाइएको छ। प्राविधिक अध्ययनपछि पुलमा भएको क्षतिको अवस्था र मर्मत गर्न लाग्ने समयबारे यकिन हुने प्रशासनले जनाएको छ।
२०६१ सालमा निर्माण भएको यो झोलुंगे पुल त्यसबेला देशकै सबैभन्दा लामो झोलुंगे पुलका रूपमा परिचित थियो। पुल हेर्न विभिन्न ठाउँबाट पर्यटकसमेत आउने गरेका थिए।
.gif)

.png)


