अब संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : रवि लामिछाने


२०८३ असोज ३ शनिबार ०९:४० बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको अबको समीक्षा पिँधमा रहेका सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताएका छन्।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले संविधान एक जीवन्त दस्तावेज भएकाले राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा यसको परिमार्जन तथा संशोधन हुन सक्ने बताएका हुन्।

‘संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ। तर, अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ,’ उनले सन्देशमा भनेका छन्।

लामिछानेले संविधान अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको पवित्र करार भएको उल्लेख गरेका छन्। नेपालको सन्दर्भमा आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने अभिभारा अझै पूरा हुन नसकेको उनको भनाइ छ।

‘लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता तब मात्र सिद्ध हुन्छ, जब यसले परिकल्पना गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक यथार्थ बन्छन्,’ उनले भनेका छन्।

रास्वपाले सामाजिक लोकतन्त्रमार्फत नागरिकको मुहारमा खुसी र समाजमा न्याय स्थापित गर्ने अठोट लिएको पनि लामिछानेले बताएका छन्।

उनले विद्यमान बेथिति र कमजोरी सच्याउँदै लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउने गरी विवेकपूर्ण बहसका लागि संविधान दिवस उपयुक्त अवसर भएको बताएका छन्।

‘हामीलाई थाहा छ, संविधान एक जीवन्त दस्तावेज हो। यसका अन्तर्वस्तु राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा परिष्कृत हुन सक्छन्, संशोधन हुन सक्छन्,’ उनले भनेका छन्।

बलियो राज्यका लागि बलिया संस्था आवश्यक पर्ने उल्लेख गर्दै लामिछानेले संविधान दिवसले सबै राजनीतिक शक्ति, राज्यका अंग र आमनागरिकलाई आ–आफ्नो स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेन्डामा एकताबद्ध हुन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन्।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधान निर्माणका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई संविधान दिवसको शुभकामना दिएका छन्।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७