संविधान र गणतन्त्रको रक्षाका लागि जनतामाझ जान्छौँ : माधवकुमार नेपाल
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेको बताएका छन्।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै नेपालले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी नीति र संविधानको संरक्षण अभियानको प्रमुख उद्देश्य रहेको बताएका हुन्।
उनले राष्ट्रियतामाथि कुनै किसिमको आघात पुग्ने अवस्था आए टुलुटुलु हेरेर बस्न नसकिने स्पष्ट पारे।
पार्टीको मुख्य आधार र शक्ति जनता नै भएकाले उनीहरूको घरदैलोमा पुगेर गुनासा, अपेक्षा र सुझाव सुन्ने तथा विश्वास पुनः स्थापित गर्ने प्रयास गरिने उनको भनाइ छ।
नेपालले देशमा बढ्दो बेरोजगारी, युवाको विदेश पलायन र नागरिकले दैनिक जीवनमा भोगिरहेका समस्यालाई अभियानका क्रममा प्राथमिकताका साथ उठाइने बताए।
जनताका समस्या समाधानका लागि सम्बन्धित पक्षमाथि दबाब सिर्जना गर्ने योजना रहेको उनले उल्लेख गरे।
विगतमा सरकारमा रहँदा वा अन्य समयमा पार्टीबाट भएका कमीकमजोरीको आत्मसमीक्षा गर्दै जनतामा देखिएका असन्तुष्टि सम्बोधन गरेर अघि बढ्ने पनि उनले बताए।
जनताको विश्वास जित्न आफ्ना कमजोरी सुधार्नु आवश्यक रहेको उनको भनाइ छ।
त्यस्तै, पुराना पार्टी र नेताहरूले केही गरेनन् भन्ने आरोपको तथ्य र प्रमाणका आधारमा प्रतिवाद गर्ने नेकपाको योजना रहेको उनले जानकारी दिए।
पार्टीले विगतमा गरेका काम र उपलब्धिको विवरणसमेत जनतामाझ लैजाने उनले बताए।
नेकपाले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।
अभियानमार्फत संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता, जनजीविकाका समस्या तथा पार्टीको संगठनात्मक रूपान्तरणका विषयमा जनतासँग प्रत्यक्ष संवाद गरिने पार्टीले जनाएको छ।
.gif)

.png)



