चीनतर्फ मृतकको संख्या ४३ पुग्यो, ५१९ बेपत्ता
२ हजार ५०० उद्धारकर्मी परिचालन, २ जनाको जीवितै उद्धार
बेइजिङ : लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरो र त्यसपछि आएको बाढीका कारण चीनतर्फ ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ। घटनामा अझै ५१९ जना बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन्।
गत भदौ १० गते बिहान तीव्र गतिमा आएको पहिरोले चीन–नेपाल सीमास्थित दक्षिणपश्चिम चीनको सिचाङ स्वायत्त क्षेत्रअन्तर्गत केरुङ बन्दरगाह क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। पहिरो र बाढीपछि चिनियाँ पक्षले तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गरेको जनाएको छ। शनिबार साँझसम्मको विवरणअनुसार उद्धार अभियानमा २ हजार ५०० भन्दा बढी उद्धारकर्मी तथा ५०० भन्दा बढी सवारीसाधन परिचालन गरिएको छ। खोजीका क्रममा ड्रोनमार्फत एक हजारभन्दा बढी उडान गरिएको र हवाई माध्यमबाट ५.४३ टन राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको चिनियाँ अधिकारीहरूले बताएका छन्।

बेपत्ताको खोजी जारी रहेकै अवस्थामा दुई जनालाई जीवितै उद्धार गरिएको पनि जनाइएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ अधिकारीहरूले बेपत्ता हुनेमा २३ देशका २६१ जना विदेशी नागरिकसमेत रहेको जानकारी दिएका छन्। पहिरोका कारण चिरोङ बन्दरगाहमा व्यापार तथा रोजगारीका लागि पुगेका नेपाली नागरिकसमेत प्रभावित भएका छन्।
चिनियाँ अधिकारीका अनुसार केरुङमा रहेका १ हजार ७२० नेपाली सीमा बासिन्दालाई आवश्यक सहयोग उपलब्ध गराइएको छ। यसैबीच, चीनले नेपालसँग विपद्सम्बन्धी सूचना आदानप्रदानलाई समेत निरन्तरता दिएको जनाएको छ। सो संयन्त्रमार्फत नेपाललाई दैनिक मौसम, जलविज्ञान तथा हिमनदीसम्बन्धी तथ्यांक उपलब्ध गराउँदै आएको चिनियाँ पक्षको भनाइ छ।
नेपालमा जारी उद्धार तथा राहत अभियानमा सहयोग पुर्याउन चीनले सुरुङ उद्धार तथा डिएनए विज्ञसहित आवश्यक आपत्कालीन सामग्री पठाएको जनाएको छ। त्यसैगरी ३२० टन बेली ब्रिज सामग्रीसहित अन्य राहत सामग्रीसमेत नेपाललाई उपलब्ध गराइएको छ।



.gif)

.png)

