भोटेकोशी बाढी : मृतकको संख्या १ हजार २८७ पुग्दा ५ हजारभन्दा बढी अझै बेपत्ता
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट सिर्जित विपद्मा परी ज्यान गुमाउनेको संख्या १ हजार २ सय ८७ पुगेको छ। ठूलो मानवीय क्षतिसँगै विपद्ले देशका विभिन्न क्षेत्रमा अर्बौँ रुपैयाँ बराबरको भौतिक क्षति पुर्याएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान्ह अद्यावधिक गरेको विवरणअनुसार विपद्बाट ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको आर्थिक क्षति तथा नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ। प्राधिकरणका अनुसार प्रभावित क्षेत्रको शीघ्र पुनर्लाभका लागि मात्रै ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ। शुक्रबार मध्यान्हसम्म फेला परेका १ हजार २ सय ८७ शवमध्ये सबैभन्दा धेरै चितवनमा भेटिएका छन्। हालसम्म फेला परेका शवमध्ये ९६ जनाको मात्रै सनाखत भएको छ। जिल्लागत रूपमा चितवनमा ३५९, नवलपरासी पूर्वमा २१९, नवलपरासी पश्चिममा २१२, नुवाकोटमा १८४, रसुवामा १४०, गोरखामा ७२, धादिङमा ६३ र तनहुँमा ३८ शव फेला परेका छन्।
विपद्मा परी ५ हजार ८३ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीनमध्ये ५८३ जना विदेशी नागरिक छन्। रसुवामा २ हजार १३० र नुवाकोटमा २ हजार ३४० जना सम्पर्कविहीन छन्। सम्पर्कविहीनको विवरणमा पहिचान खुल्न नसकेका शवसमेत समावेश भएको हुनसक्ने प्राधिकरणको अनुमान छ। विपद्मा ५ हजार ३ सय ९७ जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पताल तथा नेपाली सेना र सशस्त्र प्रहरीका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। उद्धार अभियानअन्तर्गत सुरक्षा निकायले हालसम्म १३ हजार ९३ जनालाई सुरक्षित स्थानमा पुर्याएका छन्। उद्धार गरिएकामध्ये ३०३ जना विदेशी नागरिक छन्। शुक्रबार मात्रै माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार तथा राहतका लागि नेपाली सेनाले ८३० पटक र निजी क्षेत्रले १२९ पटक हेलिकप्टर उडाएका छन्।
विपद्को प्रारम्भिक आकलनले भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको देखाएको छ। ७ हजार ५ सय ७० निजी घरमा क्षति पुगेको छ भने ४८ सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा पूर्ण तथा आंशिक क्षति भएको छ। यातायात पूर्वाधारतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। त्यस्तै ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। विपद् व्यवस्थापन तथा उद्धारका लागि देशभर २१ हजार ४ सय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ। परिचालित सुरक्षाकर्मीमध्ये नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९३१ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना छन्। प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन काठमाडौंबाट ६९ ट्रक र ३८ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री पठाइएको छ। सशस्त्र प्रहरीले १६३ हवाई उडानमार्फत नुवाकोट र रसुवामा राहत पुर्याएको छ।
सरकारले तत्कालीन राहतका लागि रसुवा र नुवाकोटलाई १/१ करोड, धादिङलाई ५० लाख तथा प्रभावित १५ स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ नगद उपलब्ध गराएको छ। बाढीका कारण अवरुद्ध सञ्चार सेवा पनि क्रमशः सञ्चालनमा आउन थालेको छ। प्राधिकरणका अनुसार नेपाल टेलिकमका १२० मध्ये ११६ र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका छन्।

.gif)

.png)

