त्रिशूली–३ ‘ए’ सुरुङबाट एक शव निकालियो
उद्धार तथा खोजी जारी
काठमाडौं : माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट एक जनाको शव निकालिएको छ। यसअघि सोही सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो। आयोजनाका प्रमुख आवाश ओझाका अनुसार सुरक्षाकर्मीको उद्धार टोलीले सुरुङबाट एक जनाको शव बाहिर निकालेको हो। शवको पहिचान भने खुल्न बाँकी छ।
यसअघि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणको संयुक्त उद्धार टोलीले सुरुङभित्रबाट दुई जनालाई जीवितै उद्धार गरेको थियो। उद्धार हुनेमा नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जन छन्। उनीहरूको काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ। सेनाका अनुसार दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आयोजनाको भूमिगत विद्युत् गृह क्षेत्रमा करिब ४२ जना इन्जिनियर तथा कर्मचारी फसेको अनुमान गरिएको छ। तीमध्ये अधिकांश विद्युत् गृह क्षेत्रमा रहेको अनुमान छ। सुरुङभित्र रहेका अन्य व्यक्तिको अवस्था पत्ता लगाउन उद्धार टोलीले खोजी तथा उद्धार अभियानलाई निरन्तरता दिएको छ। भूमिगत विद्युत् गृह क्षेत्रमा थप व्यक्तिलाई जीवितै उद्धार गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै उद्धार टोलीले खोजी गरिरहेको छ।
.gif)

.png)

