रसुवागढीमा उद्धार सामग्री नै पुग्न सकेन, ९३ जना अझै सम्पर्कविहीन
काठमाडौं : रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् गृहभित्र करिब १२ जना फसेको आशंका गरिए पनि उद्धारका लागि आवश्यक सबै सामग्री अझै आयोजनास्थलसम्म पुग्न सकेको छैन। रसुवागढी हाइड्रोपावर कम्पनीका अनुसार कम्पनीसँग सम्बन्धित ९३ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा कम्पनीका नियमित कर्मचारी ५१, सञ्चालक एक, दैनिक ज्यालादारी कामदार दुई तथा तीन ठेकेदार कम्पनीका ३९ जना छन्।
विद्युत् गृहभित्र रहेका व्यक्तिको उद्धारका लागि सुरुङमा जमेको लेदो तथा मलबे हटाउन आवश्यक मिनी एक्स्काभेटर, ३० केभिए डिजेल जेनेरेटर, सबमर्सिबल पम्प र होज पाइपलगायत उपकरण भदौ १७ गते नै नुवाकोटको मैथली आर्मी क्याम्प, बट्टारमा प्याक गरेर राखिएको थियो। तर, नेपाली सेनाको उद्धार टोलीले आयोजनास्थलको रेकी गर्दा विद्युत् गृहअगाडिको भूभाग नदीले थप कटान गरेको र उपकरणसहितको ठूलो हेलिकप्टर एमआई–१७ अवतरण गर्न नसक्ने अवस्था रहेको जानकारी गराएको कम्पनीले जनाएको छ। त्यसपछि कम तौलको सानो जेनेरेटर खरिद गरी मिनी एक्स्काभेटर र ठूलो डिजेल जेनरेटरबाहेकका सामग्री आयोजनास्थल पुर्याउने प्रयास गरिएको थियो।
तर मौसम प्रतिकूल भएपछि ती सामग्रीसमेत धुन्चे पठाउन नसकिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार हिजो दिनभर र आज बिहान १०ः५० बजेसम्म मौसम बिग्रिएका कारण उद्धार सामग्री ढुवानी हुन सकेको छैन। विद्युत् गृहबाहिर सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि दक्ष र अनुभवी रक क्लाइम्बर परिचालन गरिएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित दक्ष जनशक्तिमार्फत घट्टेखोला क्याम्प तथा आसपासको क्षेत्रमा ग्राउन्ड सर्च गर्ने गरी कम्पनीले हिमालय समिट क्लब प्रालिसँग भदौ १८ गते सम्झौता गरेको हो। चार दिनका लागि परिचालन गरिएको टोली हाल टिमुरेमा रहेको र आज हेलिकप्टरमार्फत घट्टेखोला पुर्याएर खोजी गर्ने तयारी रहेको कम्पनीले जनाएको छ।
सम्पर्कविहीन कर्मचारीका परिवार तथा आफन्तलाई घटनाको अवस्थाबारे नियमित जानकारी उपलब्ध गराउन कम्पनीले ह्वाट्सएप समूहसमेत बनाएको छ। खोजी तथा उद्धारका क्रममा प्राप्त विवरण र भइरहेका प्रयासबारे उक्त समूहबाट जानकारी गराउने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। उद्धार अभियानका लागि नुवाकोटको बट्टारमा वरिष्ठ इन्जिनियरसहित दुई जना, रसुवाको धुन्चेमा दुई जना इन्जिनियर तथा विद्युत् गृहमा विद्युतीय जडानसम्बन्धी काममा सहयोग गर्न एक जना इलेक्ट्रिकल ओभरसियरलाई तयारी अवस्थामा राखिएको छ। यस्तै, धुन्चेमा नेपाली सेनाको विशेष उद्धार टोली मौसम अनुकूल हुनासाथ आवश्यक टुल्स तथा उपकरणसहित विद्युत् गृहमा परिचालन हुन तयारी अवस्थामा रहेको कम्पनीले जनाएको छ।
.gif)

.png)

