भोटेकोशी बाढीमा मानवीय क्षति भयावह, १ हजार २५९ शव भेटिँदा ५ हजारभन्दा बढी बेपत्ता
काठमाडौं : भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षतिको विवरण थप गम्भीर बनेको छ। नेपाल प्रहरीका अनुसार बाढीपछि विभिन्न जिल्लामा गरी १ हजार २५९ शव फेला परेका छन्।
बिहीबार राति ८ बजेसम्मको विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासी पूर्व र पश्चिमबाट ती शव फेला परेका हुन्। भारतमा फेला परेका शवसमेत उक्त विवरणमा समेटिएको नेपाल प्रहरीले जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार फेला परेका शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष छन्। यस्तै, ५३२ वटा आंशिक अंगसहितका शव फेला परेका छन्।
बाढीबाट प्रभावितमध्ये हालसम्म ५ हजार ३८४ जनाले स्वास्थ्योपचार पाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न अस्पतालमा अहिले ३०४ जना उपचाररत छन्। उद्धारपछि नेपाली सेनामार्फत ३ हजार २०६ जना र सशस्त्र प्रहरी बलमार्फत १ हजार ८७४ जनाले स्वास्थ्य सेवा पाएका छन्। प्रभावित क्षेत्रमा उद्धार र राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढीपछि अझै ५ हजार ८३ जना सम्पर्कविहीन छन्। हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिए पनि उद्धार गरिएकामध्ये ३ हजारभन्दा बढी व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार होल्डिङ सेन्टरमा रहेका उद्धार गरिएका व्यक्तिलाई सुरक्षित राख्दै स्वास्थ्योपचार, खाना तथा अन्य आधारभूत सेवा उपलब्ध गराउने काम भइरहेको छ। बेपत्ताको खोजीका लागि सुरक्षा निकायसहित सम्बन्धित सबै संयन्त्र परिचालन गरिएको छ।
बाढीबाट ठूलो जनधनको क्षति भएपछि अहिले बेपत्ताको खोजी, घाइतेको उपचार, राहत वितरण र विस्थापितको तत्कालीन व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।
.gif)

.png)

