भोटेकोशी बाढीपछि चीनमा फसेका ११४ नेपाली तातोपानी नाकाबाट स्वदेश फर्किए
काठमाडौं : रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका १ सय ४७ नेपालीमध्ये ११४ जना बिहीबार तातोपानी नाका हुँदै नेपाल फर्किएका छन्। चिनियाँ पक्षले राहदानी नम्बरसमेतको विवरणसहित उनीहरूलाई तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाले जानकारी दिए।
‘चिनियाँ प्रतिनिधिले विभिन्न जिल्लाका ११४ जना नागरिकलाई तातोपानी नाकाको लिपिङ क्षेत्रमा हामीलाई जिम्मा लगाएका छन्', उनले भने, 'चिनियाँ पक्षले राहदानी नम्बरसमेतको विवरणसहित उनीहरूलाई नेपाल पठाएको हो।’ नेपाल फर्किएका नागरिकलाई काठमाडौं तथा आ–आफ्नो घरसम्म पुर्याउन भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठको समन्वयमा तीनवटा बसको व्यवस्था गरिएको छ।
सुरुमा चिनियाँ पक्षबाट ११४ जनाको सूची प्राप्त भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए। पछि थप ३३ जनासहित १४७ जना नेपाली तातोपानी नाका हुँदै नेपाल फर्किने जानकारी प्राप्त भएको उनले बताए। ‘अझै थप नागरिक आउनेछन्। नेपाल फर्किनेमा सिन्धुपाल्चोक, नुवाकोट तथा अधिकांश रसुवा जिल्लाका नागरिक छन्,’ घिमिरेले भने।
बाढीपछि चीनतर्फ फसेका नेपाली केरुङ क्षेत्रबाट सडकमार्ग हुँदै तातोपानी नाका आइपुगेका हुन्। उनीहरूको प्रवेश तथा व्यवस्थापनमा तातोपानीस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) र अध्यागमन कार्यालयले समन्वय गरेका थिए। तातोपानी नाका हुँदै पर्यटकको आवतजावत भने खुला रहेको अध्यागमन कार्यालयले जनाएको छ। व्यापारिक तथा भन्सार गतिविधि भने अझै बन्द छन्।
.gif)

.png)

