त्रिशूली–३ 'ए' को सुरुङभित्र २० मिटरसम्म पुग्यो उद्धार टोली
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको केबल डक्ट टनेलको मुख खुलाउने काम तीव्र पारिएको छ।
आयोजनाका सुरुङ तथा मुख्य संरचना बाढीले पुरिएपछि मानिसहरू फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा ९३ जनाको टोली खोजी तथा उद्धारमा जुटेको छ। टोलीमा चिनियाँ उद्धारकर्मी तथा अन्य प्राविधिकसमेत छन्। उद्धारका लागि पाँचवटा एक्स्काभेटर, कम्प्रेसर र ब्रेकर प्रयोग भइरहेको छ। सुरुङको मुखमा करिब ४० मिटर लामो र २० मिटर अग्ला भत्किएका फलामे संरचना तथा ठूलठूला ढुंगासहितको डेब्रिस थुप्रिएको थियो।
रातदिन निरन्तरको प्रयासपछि माथिल्लो भागबाट करिब तीन फिट सुरुङको मुख खुलाइएको छ। त्यससँगै उद्धार टोली सुरुङभित्र करिब १५ देखि २० मिटरसम्म प्रवेश गरिसकेको छ। एक्स्काभेटर तथा अन्य मेसिन सुरुङभित्र प्रवेश गराउन पूरै मुख खुलाउनुपर्ने भएकाले बाँकी डेब्रिस हटाउने काम जारी छ। सुरुङको मुखमा रहेका थप सातवटा ठूला बोल्डर ब्लास्टिङका लागि तयारी गरिएको छ।
करिब १७० मिटर लामो उक्त सुरुङ माटो र लेदोले भरिएको छ। सुरुङ पूर्ण रूपमा छिचोलेपछि मात्रै भित्र रहेको पावरहाउस लगायतका अन्य संरचनामा पुग्न सकिनेछ।
.gif)

.png)

