प्रधानमन्त्रीलाई कुलमानको सुझाव : सुरुङ उद्धारको मुख्य समस्या प्रविधि होइन
काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि कुनै विशेष प्रविधि आवश्यक नरहेको बताएका छन्। भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनामा फसेका व्यक्तिको उद्धारलाई प्रभावकारी बनाउन पर्याप्त उपकरण र दक्ष उद्धार टोली घटनास्थलमा पुर्याउनुपर्ने उनको भनाइ छ।
भदौ १० गतेको भोटेकोसी बाढीबाट भएको जनधनको क्षतिबारे छलफल गर्न घिसिङ बिहीबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भेट्न सिंहदरबार पुगेका थिए। उज्यालो नेपाल पार्टीका पदाधिकारीसहित प्रधानमन्त्रीलाई भेटेका घिसिङले उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा सरकारलाई सुझाव दिएका छन्। केही दिनअघि बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका घिसिङले त्यहाँ आफूले देखेका र भोगेका समस्या तथा त्यसका समाधानका उपाय प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको बताए।
त्यस अवसरमा प्रधानमन्त्री शाहले विशेषगरी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारबारे घिसिङसँग चासो राखेका थिए। घिसिङका अनुसार प्रधानमन्त्री शाहले सुरुङमा फसेकाहरूको उद्धारका लागि सबै स्रोतसाधन परिचालन गर्ने बताएका छन्। देशभित्र उपलब्ध स्रोतसाधनले नपुगे विदेशबाट भए पनि आवश्यक उपकरण ल्याएर उद्धार प्रभावकारी बनाउने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएको घिसिङले बताए। बुधबार संसद्मा प्रधानमन्त्री शाहले सुरुङ उद्धारका लागि नेपालमा विशेष प्रविधि नभएको बताएका थिए। घिसिङले पनि त्यसमा सहमति जनाएका छन्।
उनले सुरुङ उद्धारमा विशेष प्रविधिभन्दा पनि आवश्यक उपकरण घटनास्थलसम्म पुर्याउनु मुख्य चुनौती रहेको बताए। ‘विशेष प्रविधि भन्ने त केही पनि हुँदैन। कामैले गर्ने हो,’ घिसिङले भने, ‘हामीले घटनास्थलमा आवश्यक उपकरण लैजानुपर्यो। उद्धार टोली हुनुपर्यो।’ उनका अनुसार एउटा टोली मात्रै पर्याप्त हुँदैन। पर्याप्त उपकरणसहितको उद्धार टोली परिचालन गर्न सके सुरुङभित्र जमेको गेग्रान र ढुंगा हटाएर उद्धार अघि बढाउन सकिन्छ।
घिसिङले सुरुङभित्र उद्धार कार्य अघि बढाउन नसक्नुको मुख्य कारण घटनास्थलमा आवश्यक उपकरण पुर्याउन कठिन हुनु रहेको बताए। ‘मुख्य समस्या भनेकै त्यहाँ उपकरण पुर्याउन गाह्रो भएकाले हो,’ उनले भने। उनका अनुसार पर्याप्त उपकरण घटनास्थलमा पुर्याएर सुरुङमा जमेको गेग्रान र ढुंगा हटाउन सके उद्धार कार्यलाई प्रभावकारी बनाउन सकिन्छ। यसका लागि छुट्टै विशेष प्रविधिभन्दा उपकरण, जनशक्ति र प्रभावकारी उद्धार व्यवस्थापनमा जोड दिनुपर्ने घिसिङको भनाइ छ।
.gif)

.png)

