बाढीपछि हाइड्रोमा उद्धार चुनौतीपूर्ण, सुरुङभित्र सयौँको खोजी जारी


२०८३ भदौ १८ बिहीबार ०७:१३ बजे
तस्बिरः नेपाली सेना

काठमाडौं : भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा सयौँ मानिस फसेको आशंकामा खोज तथा उद्धार अभियान अझै जारी छ।

नेपाली सेना, जलविद्युत् आयोजनाका प्राविधिक तथा विभिन्न देशका विज्ञसहितको संयुक्त टोलीले बुधबार पनि विभिन्न आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रमा खोजी गरेको छ। यद्यपि, कठिन भौगोलिक अवस्था, सुरुङभित्र थुप्रिएको लेदो, चट्टान र पानीका कारण उद्धारमा अपेक्षित प्रगति हुन सकेको छैन।

नेपाली सेनाका अनुसार रसुवागढी जलविद्युत् आयोजनामा सेना र आयोजनाका इन्जिनियरसहितको टोली सुरुङभित्र २७५ मिटरसम्म पुगेर खोजीमा जुटेको छ। उद्धारलाई तीव्र बनाउन हेभी एक्साभेटर ल्याउने तयारी भइरहेको छ। लाङटाङ जलविद्युत् आयोजनामा विदेशी विज्ञसहित २५ जनाको संयुक्त टोली सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको छ।

त्यस्तै, चिलिमे जलविद्युत् आयोजनामा संयुक्त टोली सुरुङभित्र करिब १५० मिटरसम्म पुगेको छ। सुरुङ बन्द अवस्थामा भेटिएपछि सम्भावित जीवित व्यक्तिको अवस्थाबारे जानकारी लिन साउन्ड डिटेक्टरबाट निगरानी गरिएको छ।

अपर त्रिशूली–१ आयोजनामा सुरुङको प्रवेशद्वार नै ढुंगाले छेकिएको अवस्थामा रहेकाले टोलीले भित्र प्रवेश गर्ने प्रयास गरिरहेको छ। हाकुबेँसीतर्फको खोजीमा संयुक्त टोली सुरुङभित्र २६० मिटरसम्म पुगे पनि हालसम्म केही फेला परेको छैन। मेन टनेलबाट २५ मिटर, एक्सेस टनेल–१ बाट करिब १५० मिटर र एक्सेस टनेल–२ बाट करिब २० मिटर अघि बढ्दा २६ मिटर पानी रहेको डिसेन्डर बेसिनसम्म पुगेको सेनाले जनाएको छ। त्यसपछि भने बाटो बन्द अवस्थामा भेटिएको छ।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा नेपाली सेनासहित ९३ जनाको संयुक्त टोलीले चारवटा स्काभेटर र एउटा बबक्याट प्रयोग गरेर माटो हटाउने काम गरिरहेको छ। कम्प्रेसर, ब्रेकर तथा ब्लास्टिङको प्रयोगबाट सुरुङतर्फको अवरोध हटाउने प्रयास भइरहेको छ। आउटलेटमा लेदो भरिएकाले बबक्याटमार्फत माटो हटाउँदै अगाडि रहेको चट्टान ब्लास्टिङ गर्ने काम भइरहेको छ।

यसैगरी त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनाका ६१ जना, तीन गैरसैनिक तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको टोली खोजीमा परिचालित छ। टोलीले आयोजना कार्यालय, कर्मचारी आवास तथा क्याम्प क्षेत्र पहिचान गरी बबक्याटसहित खोजी तथा उद्धारको काम गरिरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७