सडक अवरोधले बुलेट रोकिएपछि उपत्यकाबाहिरै भरिँदै सिलिन्डर
काठमाडौं : पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौंमा खाना पकाउने ग्यासको आपूर्ति प्रभावित हुन नदिन राजधानी बाहिरका ग्यास उद्योगबाटै सिलिन्डर भरेर उपत्यका ल्याउन थालिएको छ।
ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट समेत काठमाडौं प्रवेश गर्न कठिन भएपछि ग्यास उद्योगहरूले एकअर्काका प्लान्ट प्रयोग गरी सिलिन्डर भर्ने र ट्रकमार्फत उपत्यका पठाउने व्यवस्था मिलाएका हुन्। साल्ट ट्रेडिङ कर्पोरेसनले वीरगञ्जस्थित मनोज ग्यासको प्लान्टमा एसटीसी ग्यासका सिलिन्डर भरेर काठमाडौं पठाउन थालेको छ।
त्यस्तै, चितवनको बाबा ग्यासले मंगलबार १ हजार ५०० श्री ग्यासका सिलिन्डर भरेर पठाएको सञ्चालक विमल कालाखेतीले जानकारी दिए। श्री ग्यासको प्लान्ट धादिङको नौबिसेमा रहेको छ। यसैगरी, साइबाबा ग्यासले आफ्ना ९०० सिलिन्डर काठमाडौं पठाएको छ भने नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासका १ हजार २०० सिलिन्डर भरेर पठाएको जनाएको छ।
गैँडाकोटको जानकी ग्यासमा नौबिसेको श्रीराम ग्यास, हेटौँडाको साहारा ग्यासमा काठमाडौंका एभरेष्ट र सुगम ग्यासका सिलिन्डर भरेर उपत्यका पठाउने व्यवस्था गरिएको छ। कालाखेतीका अनुसार बनेपाको सगरमाथाले परासीस्थित चण्डी ग्यासमा तथा बनेपाका लोकप्रिय, सुपर र तारा ग्यासलगायत उद्योगले पनि राजधानी बाहिरका विभिन्न ग्यास उद्योगमा सिलिन्डर भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाउन थालेका छन्।
नेपाल एलपी ग्यास उद्योग संघका सदस्यसमेत रहेका कालाखेतीले भारतबाट नेपाल भित्रिने ग्यासको परिमाणमा कमी नआएकाले तत्काल ग्यास अभाव हुने अवस्था नरहेको बताए। उनका अनुसार गत महिना ६० हजार २०० मेट्रिकटन ग्यास नेपाल भित्रिएको थियो, जुन हालसम्मकै उच्च परिमाणमध्ये एक हो।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिरका प्लान्टमा ग्यास भरेर उपत्यका लैजान अनुमति दिएको छ। उपत्यका तथा आसपासका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर तथा नवलपरासीका विभिन्न ग्यास उद्योगसँग समन्वय गरेर सिलिन्डर भर्ने र उपत्यका पठाउने व्यवस्था मिलाएका छन्।
ग्यास उद्योगीका अनुसार काठमाडौं उपत्यका र आसपासका जिल्लामा मात्रै कुल ग्यास खपतको करिब ४० प्रतिशत खपत हुने भएकाले सडक अवरोधका बीच वैकल्पिक बोटलिङ व्यवस्था गरिएको हो।
.gif)

.png)

