रसुवामा ६६ वटा शव फेला, ६ जनाको पहिचान


२०८३ भदौ १६ मंगलबार १४:२५ बजे

रसुवा : भोटेकोशी बाढीमा परी ज्यान गुमाएका ६६ जनाको शव रसुवाका विभिन्न स्थानमा फेला परेको छ। जिल्ला प्रहरी प्रमुख अशोक थापाका अनुसार बेत्रावतीमा १०, टिमुरेमा ५० र स्याफ्रुबेँसीमा ६ वटा शव फेला परेका हुन्। तीमध्ये ६ वटा शवको पहिचान भएको छ। 

फेला परेका शव संकलन गरी धुन्चे ल्याउने तयारी भइरहेको उनले बताए। बाढीमा बेपत्ता भएकाहरूको खोजी जारी छ। बाढीबाट प्रभावित ६ सयभन्दा बढीको उद्धार गरिएको प्रहरीले जनाएको छ। विस्थापितलाई विभिन्न स्थानका अस्थायी आश्रयस्थलमा राखिएको छ। 

बेत्रावती कैँदलटारका विस्थापितलाई काठमाडौंको तारकेश्वरस्थित शान्ति टोलमा तथा टिमुरे र स्याफ्रुबेँसीका विस्थापितलाई रानीवनस्थित पहेँलो गुम्बामा राखिएको छ। पुल तथा सडक बगाएका कारण पश्चिमी रसुवाका विभिन्न बस्तीमा हेलिकोप्टरमार्फत राहत सामग्री पुर्‍याउने काम भइरहेको छ। लहरेपौवा, बेत्रावती, पहिराबेँसी, राम्चे, टिमुरे, स्याफ्रु लगायतका क्षेत्रमा खाद्यान्न ढुवानी भइरहेको जिल्ला प्रशासनले जनाएको छ।

विद्युत् सेवा अवरुद्ध भएपछि मोबाइल चार्जका लागि घुम्ती सेवा सञ्चालन गरिएको छ। हालसम्म ५ सयभन्दा बढी स्थानीयले सेवा लिएका छन्। जिल्लाका अधिकांश क्षेत्रमा सञ्चार सम्पर्क पुनःस्थापित भएको र विद्युत् आपूर्ति नियमित बनाउन बालाजुदेखि धुन्चेसम्मको प्रसारण लाइन मर्मत तथा विस्तारको काम भइरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७