रसुवा बाढीको क्षति भयावह : ९३९ शव फेला, ३ हजार ९२५ अझै बेपत्ता


२०८३ भदौ १६ मंगलबार ०६:५६ बजे
फाइल फोटो

काठमाडौं : रसुवाको भोटेकोशी हुँदै विभिन्न क्षेत्रमा फैलिएको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार साँझ ६ बजेसम्म देशका विभिन्न प्रभावित जिल्लाबाट ९३९ जनाको शव फेला परेको हो।

प्राधिकरणका अनुसार बाढीबाट सबैभन्दा ठूलो मानवीय क्षति चितवनमा भएको छ। त्यहाँ मात्रै २७९ जनाको शव फेला परेको छ। यस्तै, पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १६९, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।

बाढी तथा त्यसपछिको विपद्का कारण ३ हजार ९२५ जना अझै सम्पर्कविहीन रहेको तथ्यांक सार्वजनिक गरिएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान जारी रहेकाले मृतक तथा बेपत्ताको संख्या थप बढ्न सक्ने देखिएको छ। प्राधिकरणका अनुसार हालसम्म २७९ जना घाइते भएका छन्। तीमध्ये १६८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

यसैबीच, उद्धार तथा राहतसँगै स्वास्थ्य उपचारलाई पनि प्राथमिकता दिइएको छ। नेपाली सेनाले हालसम्म २ हजार ७०० जनाको उपचार गरेको प्राधिकरणले जनाएको छ। विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ तथा नवलपरासीका विभिन्न क्षेत्र प्रभावित भएका छन्। प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, घाइतेको उपचार तथा राहत वितरणको काम जारी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७