गौरा र न्वागी पर्वका अवसरमा स्थानीय तहले दिए सार्वजनिक बिदा


२०८३ भदौ १८ बिहीबार ०८:१२ बजे

काठमाडौं : गौरा पर्वका अवसरमा कञ्चनपुरका छ स्थानीय तहमा आज सार्वजनिक बिदा दिइएको छ। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा र पुनर्वास नगरपालिका तथा लालझाँडी र बेलडाँडी गाउँपालिकाले स्थानीय पर्वका अवसरमा बिदा दिएका हुन्।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार नगर प्रमुखस्तरीय निर्णयबाट सुदूरपश्चिमको महत्वपूर्ण सांस्कृतिक पर्व गौराका अवसरमा स्थानीय बिदा दिइएको हो। शुक्लाफाँटा नगरपालिकाले पनि नगर क्षेत्रभर सार्वजनिक बिदा दिएको जनाएको छ।

यसैबीच, चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम) का अवसरमा मकवानपुरका राक्सिराङ र कैलाश गाउँपालिकाले दुई दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। दुवै पालिकाले भदौ २२ र २३ गते सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था तथा शिक्षण संस्थामा बिदा दिने निर्णय गरेका हुन्। राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले स्थानीय सांस्कृतिक पर्वको संरक्षण तथा प्रवर्द्धनका लागि बिदा दिने निर्णय गरिएको बताएका छन्। 

चेपाङ समुदायमा न्वागी पर्वका अवसरमा नयाँ खाद्यान्न बाली तथा वनस्पति घरमा भित्र्याएर पूजा गर्ने परम्परा छ। भदौ २२ गते राति पूजा तथा ढ्याङ्ग्रो बजाउने र भोलिपल्ट बिहान पितृ पूजा गरी प्रसाद ग्रहण गरेर आफन्तसँग पर्व मनाउने चलन रहेको छ। नयाँ बाली तथा उब्जनी पहिले पितृलाई चढाएर मात्रै आफूले ग्रहण गर्ने चेपाङ समुदायको परम्परा छ। न्वागीका क्रममा भूमि र प्रकृतिको समेत पूजा गरिन्छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७