त्रिशूली–३ ‘ए’को सुरुङ सफाइ तीव्रः उद्धारका लागि भग्नावशेष हटाउँदै


२०८३ भदौ १८ बिहीबार ०८:२९ बजे
तस्बिरः नेपाली सेना

काठमाडौं : भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल डक्ट सुरुङमा थुप्रिएको लेदो, ढुंगा र भग्नावशेष हटाउने काम तीव्र पारिएको छ। १६० मिटर लामो सुरुङको प्रवेशद्वार आसपास मात्रै पाँच दिनमा करिब २० हजार घनमिटर माटो तथा भग्नावशेष हटाइएको छ।

खोज तथा उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेका अनुसार भदौ १३ गतेदेखि दुईवटा एक्स्काभेटर परिचालन गरेर निरन्तर सफाइ भइरहेको छ। यस क्रममा लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बीम, पिलर तथा घरजत्रा ठूला बोल्डरसमेत हटाइएको छ। हालसम्म दुई दर्जनभन्दा बढी ठूला बोल्डर नियन्त्रित विस्फोटमार्फत हटाइएको छ। आवश्यकताअनुसार ब्रेकर र विस्फोटक पदार्थ प्रयोग गरेर २४ घण्टा नै सफाइको काम भइरहेको न्यौपानेले बताए।

उनका अनुसार सुरुङको पोर्टलतर्फ टप फेस क्राउनभन्दा करिब २.५ मिटर तलसम्मको करिब ५० मिटर क्षेत्र सफा भइसकेको छ। सुरुङ ५.५ मिटर अग्लो रहेको र बाँकी करिब तीन मिटर गहिराइको एक्सेस तथा ड्रेनेज निर्माण सम्पन्न भएपछि मात्रै सुरुङभित्र थुप्रिएको लेदो हटाउन सुरु गरिनेछ।

प्रारम्भिक अवलोकनका क्रममा सुरुङको मुखबाट करिब एक मिटरसम्मको भाग लेदोले पूर्ण रूपमा भरिएको पाइएको छ। तर सुरुङबाट प्रतिसेकेन्ड करिब दुई लिटर पानी बाहिर निस्किरहेको र पानीको दबाब नदेखिएको इन्जिनियर न्यौपानेले बताए। यसले सुरुङभित्र ठूलो मात्रामा पानी जमेको अवस्था नरहेको हुनसक्ने प्रारम्भिक संकेत गरेको छ। पोर्टलको बाहिरी भागमा गेटको स्ल्याब, काठका दुई ठूला ठुटा र बोल्डरले भने अवरोध सिर्जना गरेका छन्।

प्रारम्भिक अनुमानमा सुरुङभित्र पानी र लेदोबाहेक ठूला ढुंगा प्रवेश नगरेको हुनसक्ने देखिए पनि सुरुङको भित्री वास्तविक अवस्था अझै पूर्ण रूपमा यकिन भइसकेको छैन। १६० मिटर लामो केबल डक्ट सुरुङमा करिब ६० मिटरको दूरीमा एउटा बेन्ड रहेको छ। सुरुङ पावरहाउसतर्फ उकालो ग्रेडियन्टमा रहेकाले यसको भित्री संरचना सामान्य र सुरक्षित रहेको प्रारम्भिक अनुमान गरिएको छ।

यद्यपि घटनास्थलसम्म सडक पहुँच नभएकाले उद्धारमा प्रयोग हुने मेसिन तथा उपकरणका लागि आवश्यक सामग्री हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने अवस्था छ। यसका कारण आवश्यक सामग्री पुर्‍याउन केही समय लागे पनि सफाइ तथा खोज तथा उद्धारको काम निरन्तर भइरहेको जनाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७