कृष्णभीरमा नयाँ ट्र्याक खोलिने, दीर्घकालीन समाधानका लागि सुरुङको अध्ययन
काठमाडौं : कृष्णभीर पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गलाई तत्काल सञ्चालनमा ल्याउन अस्थायी संरचना निर्माण गरिने भएको छ। दीर्घकालीन समाधानका लागि भने सुरुङमार्ग र बाइपास सडक निर्माणको विकल्पमा अध्ययन गरिने भएको छ।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालका अनुसार राजधानीसँगको आपूर्ति शृङ्खला पुनःस्थापित गर्न मन्त्रालयमा मंगलबार बसेको बैठकले तत्काल सडक सञ्चालनका विभिन्न विकल्प अघि बढाउने निर्णय गरेको हो। बैठकले हिलसाइडमा रहेको ‘ग्याबियन ब्रेस्ट वाल’ माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माण गर्ने निर्णय गरेको छ। त्यसका लागि नयाँ ट्र्याक खोल्ने, ग्याबियन बक्स तयार गर्ने र हिलसाइडबाट बोल्डर खसाल्ने काम अघि बढाइनेछ।
त्यस्तै, कृष्णभीर माथिबाट नयाँ ट्र्याक खोलेर सडक सञ्चालनमा ल्याउने विकल्पमा पनि सहमति भएको मन्त्री लम्सालले जानकारी दिए। पहिरोको दीर्घकालीन समाधानका लागि सुरुङमार्ग निर्माण, सोइल नेलिङ, सिट पाइललगायतका प्रविधिको सम्भाव्यता अध्ययन गरिने भएको छ। सडक विभागले यी विकल्पबारे आवश्यक प्राविधिक अध्ययन गर्नेछ।
मन्त्रालयका अनुसार सुरुङ वा बाइपास सडक निर्माणका सम्भावित विकल्पमा तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडकको व्यवस्था गर्ने गरी प्रक्रिया अघि बढाइनेछ। वैकल्पिक सडकको अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने भएको छ। आवश्यकताअनुसार सोसाइटी र सडक विभागबीच समझदारीपत्र (एमओयू) समेत गरिने मन्त्रालयले जनाएको छ।
.gif)

.png)

