कृष्णभीरमा नयाँ ट्र्याक बनेपछि पृथ्वी राजमार्ग दुईतर्फी खुल्यो
काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धादिङको कृष्णभीर क्षेत्रमा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएपछि बिहान ६ बजेदेखि राजमार्गमा दुवैतर्फ सवारीसाधन सञ्चालन गर्न मिल्ने भएको हो। भदौ १० र १४ गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण कृष्णभीर क्षेत्रमा सडकको ठूलो भाग भासिएपछि पृथ्वी राजमार्गमा यातायात सञ्चालन प्रभावित भएको थियो। सडक भासिएपछि यस क्षेत्रमा आवतजावत पूर्णरूपमा रोकिएको थियो।
सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायले निरन्तर काम गर्दै आएका थिए। जोखिमपूर्ण भूभागमा नयाँ ट्र्याक निर्माण गरी सडकलाई पुनः यातायातका लागि खुलाइएको प्रशासनले जनाएको छ। राजमार्ग सञ्चालनमा आएपछि राजधानी काठमाडौँलाई धादिङ, चितवन, गोरखालगायतका जिल्लासँग जोड्ने प्रमुख सडकखण्डमा यातायात सहज हुने अपेक्षा गरिएको छ। बाढी र पहिरोका कारण लामो समयदेखि सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था थियो।
जिल्ला प्रशासन कार्यालय धादिङले सडक पुनः सञ्चालनमा ल्याउन सहयोग गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सम्बन्धित सडक आयोजना तथा कार्यालय, निर्माण व्यवसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सवारी चालक, यात्रु तथा अन्य सरोकारवालालाई धन्यवाद दिएको छ। तर सडक पूर्णरूपमा सञ्चालनमा आए पनि पृथ्वी राजमार्गका विभिन्न स्थानमा जोखिम भने कायमै रहेको प्रशासनले जनाएको छ। बाढी तथा पहिरोका कारण कमजोर बनेका सडकखण्डमा सडक भासिने, पहिरो जाने तथा माथिबाट ढुंगा–माटो खस्ने सम्भावना रहेकाले यात्रामा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
विशेषगरी वर्षा भइरहेको समयमा सडकको अवस्था थप जोखिमपूर्ण हुनसक्ने भएकाले चालक तथा यात्रुलाई सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ। सडकमा पहिरो, ढुंगा वा अन्य अवरोध देखिएमा जोखिम मोलेर अगाडि नबढ्न र सुरक्षाकर्मी तथा सडक व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न भनिएको छ। प्रशासनले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा यातायात सञ्चालनसम्बन्धी थप जानकारीका लागि सम्बन्धित निकाय र सुरक्षा निकायबाट जारी हुने आधिकारिक सूचनालाई आधार मान्नसमेत आग्रह गरेको छ।
.gif)

.png)

