नागढुंगानजिकै सडक भासियो, सुरुङमार्गबाट चल्न थाले सवारी
काठमाडौं : नागढुंगा चेकपोस्टबाट करिब ७ सय मिटर अगाडि पात्लेबनमा सडक भासिएको छ। सडक विभागका अनुसार पात्लेबनमा करिब ३ मिटर चौडाइको सडक भासिएको हो। सडक भासिएपछि उक्त खण्डमा तत्कालका लागि सवारी आवागमन बन्द भएको थियो।
तर साना सवारीसाधनलाई भने वैकल्पिक रूपमा नागढुंगा सुरुङमार्गबाट पठाउने व्यवस्था मिलाइएको नागढुंगा–मलेखु सडक खण्डका इन्जिनियर राजीव मानन्धरले बताए। उनले भने, 'साना गाडीहरूलाई तत्कालका लागि सुरुङमार्गबाट जाने व्यवस्था मिलाइएको छ।'
सडकको एउटा खण्डमा क्षति पुगेकाले एकतर्फी रूपमा सवारी सञ्चालन गर्न सकिने अवस्था भए पनि थप क्षति हुन नदिन सडक बन्द गरिएको उनको भनाइ छ। सडकको अवस्था थप मूल्यांकन गरी सुरक्षित रूपमा यातायात सञ्चालन गर्नेबारे निर्णय गरिने विभागले जनाएको छ।
नागढुंगा पातले वन क्षेत्रमा सडक भासिएपछि केही समयदेखि प्रभावित भएको आवागमनलाई अहिले आंशिक रूपमा सहज बनाइएको हो। सडक विभागका अनुसार पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकललाई भासिएको सडक खण्डबाटै एकतर्फी रूपमा आवतजावतको व्यवस्था मिलाइएको छ।
भासिएको सडकमा अहिले ग्राभेल भर्ने काम भइरहेको उनले जानकारी दिए। प्राविधिक अध्ययन र आवश्यक मर्मतपछि मात्रै उक्त सडक खण्डबाट पूर्ण रूपमा यातायात सञ्चालन गर्नेबारे निर्णय हुने विभागले जनाएको छ।
.gif)

.png)

