नुवाकोटमा १ हजार ८४८ बेपत्ता, २ हजार ९९२ जनाको उद्धार


२०८३ भदौ १७ बुधबार ०९:०२ बजे
फाइल फोटो

काठमाडौं : चीनतर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोट, रसुवा र धादिङमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपछि नुवाकोटमा मात्रै १ हजार ८४८ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म २ हजार ९९२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। बाढीमा परी घाइते भएका ४३ जनाको उपचार भइरहेको छ।

बाढीका कारण नुवाकोट र रसुवाको सीमास्थित बेत्रावतीका दुई वटा पक्की पुल बगेपछि सडक सम्पर्क विच्छेद भएको छ। त्रिदेशीय मार्गअन्तर्गत गल्छी–देवीघाट–विदुर–बेत्रावती सडक पनि विभिन्न स्थानमा पहिरो तथा बाढीले क्षतिग्रस्त भएको डिएसपी इकबाल हवारीले बताए।

बाढीले विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकाका नदी किनारका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। किस्पाङको शान्तिबजार, बेत्रावती, सोले, तुप्चेफाँट, शुभघाट, त्रिशूली, ढुंगे, देवीघाट बजार, बुधसिङघाट, महादेवफाँट, तारुकाघाट, केउरेनी र कोल्पुटारफाँटलगायत क्षेत्रमा क्षति पुगेको प्रहरीले जनाएको छ।

यसैबीच, विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटा घरबाट २२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। डिएसपी हवारीका अनुसार घरको भग्नावशेषबाट ती शव फेला परेका हुन्। फेला परेकामध्ये ६ वटा शव हेलिकप्टरमार्फत निकालिएको र बाँकी शव संकलनको काम भइरहेको छ।

बेत्रावतीमा भेटिएका शवमध्ये केही गोसाईंकुण्ड मेलाका क्रममा बास वा खाना खान पुगेका तीर्थयात्रीको हुनसक्ने स्थानीय जनप्रतिनिधिको अनुमान छ। तर शव तथा घटनास्थलको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

बाढी प्रभावित बेत्रावती क्षेत्रमा सुरक्षा निकायले शव संकलन तथा व्यवस्थापनको काम जारी राखेको छ। साथै पुरिएका घर तथा संरचनाबाट सुरक्षित रूपमा शव तथा प्रभावित व्यक्तिको खोजी भइरहेको छ।

यसैबीच, नुवाकोटबाट काठमाडौँ प्रवेश गर्ने टोखा–छहरे सडकखण्डमा समेत पहिरो गएको छ। शिवपुरी गाउँपालिका–७ काफलडाँडामा रुखसहितको पहिरो खसेपछि केही समय अवरुद्ध सडक अहिले एकतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

सडकमा सवारीसाधनको चाप र लामो जाम रहेकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। पहिरो पूर्ण रूपमा हटाएर सडकलाई दुईतर्फी सञ्चालनमा ल्याउने काम जारी रहेको छ। बाढीका कारण अवरुद्ध त्रिदेशीय मार्गको ढुंगेबाट गेर्खुतर्फ जाने सडक पनि सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७