रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ५८ पुग्यो, ३ हजार ९१६ जना अझै सम्पर्कविहीन
काठमाडौं : रसुवा केन्द्रबिन्दु बनाएर आएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १ हजार ५८ पुगेको छ। नेपाल प्रहरीले मंगलबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा फेला परेका शव र मानव अंगसमेत गरी मृतकको संख्या १ हजार ५८ पुगेको हो।
प्रहरीका अनुसार चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव फेला परेको छ। विपद्मा परी २७९ जना घाइते भएका छन्। तीमध्ये १६८ जना उपचारपछि डिस्चार्ज भएका छन् भने नेपाली सेनाले २ हजार ७४० जनाको स्वास्थ्य उपचार गरेको जनाएको छ। बाढीपछि ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्। तीमध्ये रसुवाबाट करिब ८६५, नुवाकोटबाट १ हजार ५५८ र विभिन्न जलविद्युत् आयोजनाबाट ६३९ जना छन्। सम्पर्कविहीन हुनेमा ५८३ विदेशी नागरिक र विदेशी पर्यटकसँगै गएका १६४ नेपाली नागरिकसमेत छन्।
यस्तै, नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३ तथा भन्सार, अध्यागमन, क्वारेन्टाइन र लाङटाङ राष्ट्रिय निकुञ्जका कर्मचारीसमेत बेपत्ता छन्। खोज तथा उद्धारका लागि २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेनाका ९ हजार १९९, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना परिचालन भएका छन्। हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले ५९२ हवाई उडानमार्फत ३ हजार ७८२ जनाको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ३ हजार ५०९ नेपाली र २७३ विदेशी नागरिक छन्।
सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ राहत उपलब्ध गराएको छ। प्रभावित १५ स्थानीय तहका लागि थप ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ। राहतका लागि ३७ ट्रक र ३७ बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। प्रभावित क्षेत्रमा इन्धन आपूर्ति सहज बनाउन ४२ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र ६ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ।
सञ्चार सेवातर्फ नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटै टावर सञ्चालनमा आएका छन् भने एनसेलका ७८ मध्ये ७५ टावर सुचारु भएका छन्। पहिचान खुल्न नसकेका शव विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएको जनाइएको छ।
.gif)

.png)

