टनेलमा फसेकाको उद्धार सरकारको पहिलो प्राथमिकता हो : ऊर्जामन्त्री श्रेष्ठ


२०८३ भदौ १७ बुधबार ०७:५५ बजे

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले रसुवा बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धार सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा फसेकाका परिवार तथा आयोजना सञ्चालक समितिका पदाधिकारीसँग मन्त्रालयमा भएको छलफलमा मन्त्री श्रेष्ठले उद्धारका लागि राज्यका तर्फबाट उपलब्ध सबै उपाय प्रयोग भइरहेको बताए। उनले सुरुङमा फसेका नागरिकको समस्या परिवारको मात्र नभई राज्यकै जनशक्ति र सम्पत्तिसँग जोडिएको विषय भएको बताए। विपद्का कारण ठूलो जनशक्ति गुमेको उल्लेख गर्दै उनले उद्धारका लागि सरकार निरन्तर प्रयासरत रहेको बताए।

मन्त्री श्रेष्ठले प्रधानमन्त्रीले समेत उद्धारका लागि आवश्यक स्रोतसाधनमा कमी हुन नदिने निर्देशन दिएको जानकारी दिए। उद्धारको प्रगतिबारे प्रधानमन्त्रीले नियमित चासो राखिरहेको उनको भनाइ थियो। पीडित परिवारलाई उद्धारको अवस्थाबारे नियमित जानकारी उपलब्ध गराउन पनि उनले आयोजना सञ्चालकलाई निर्देशन दिए। प्रत्येक पीडित परिवारसँग २४सै घण्टा सम्पर्कमा रहन र सूचनामा ‘मिस ग्याप’ हुन नदिन बोर्ड तथा आयोजनाका प्रमुख कार्यकारी अधिकृतलाई उनले आग्रह गरे।

उनले परिवारहरूले कुनै विशेष सुविधा नभई सत्य र यथार्थ सूचना मात्र खोजिरहेको बताए। त्यसैले दिनहुँ पीडित परिवारलाई कार्यालयमा राखेर उद्धारको अवस्थाबारे अपडेट दिनसमेत निर्देशन दिएका छन्। उद्धारका लागि उपकरण लैजान हेलिकप्टरको अभाव, प्रतिकूल मौसम, कठिन भौगोलिक अवस्था तथा बाढीको जोखिमले चुनौती थपेको मन्त्री श्रेष्ठले बताए। 

सुरुङमा खन्दा सुरुङ भेटिए पनि त्यसपछि लेदो पानी जमेर अर्को चुनौती सिर्जना भएको उनको भनाइ थियो। यस्ता कठिनाइका बाबजुद राज्यले उद्धारका लागि हरसम्भव प्रयास गरिरहेको र पीडित परिवारसँगै रहेको मन्त्री श्रेष्ठले बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७