काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ विजयी, ठूला दलका उम्मेदवारको जमानत जफत
काठमाडौँ : काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सपना राजभण्डारीले २ हजार ८३५ मत ल्याएकी छन् ।
नेकपा (एमाले) का उम्मेदवार राजेश शाक्य र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नबिन शाहीले समान १ हजार ९०९ मत प्राप्त गरेका छन्। उज्यालो नेपाल पार्टीका राजन खड्गीले १ हजार ३३ मत पाएका छन्।
यस क्षेत्रमा प्रतिस्पर्धामा रहेका ठूला दलसहित अन्य सबै उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ।
विराजभक्त श्रेष्ठ यसअघि बागमती प्रदेशसभा सदस्य रहेका थिए। उनी पहिलो पटक २०७४ सालमा समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेशसभामा निर्वाचित भएका थिए।
प्रदेशसभामा रहँदा उनले नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषा बनाउने कानुन पारित गराउन भूमिका खेलेका थिए। संघीय सरकारले गुठी विधेयक ल्याउँदा उनले सडक र सदन दुवैबाट विरोध जनाएका थिए।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि श्रेष्ठ काठमाडौं–८ बाटै विजयी भएका थिए। त्यसबेला उनले १० हजार ११२ मत प्राप्त गरेका थिए भने सुमन सायमीले ६ हजार १७९ मत ल्याएका थिए।
विघटित प्रतिनिधिसभामा उनले सुशासन तथा खेलकुद क्षेत्र सुधारका विषयमा सक्रियता देखाएका थिए। उनले प्रत्येक वर्ष आफ्नो कामको प्रतिवेदन सार्वजनिक गर्दै आएका थिए।
श्रेष्ठ केही समय युवा तथा खेलकुद मन्त्रीसमेत बनेका थिए। मन्त्री हुँदा खेलकुद क्षेत्र सुधार तथा खेलाडीको मनोबल बढाउने पहल गरेका थिए।
.gif)

.png)

