बालेनलाई अधिकृत नदिँदा अहिलेको राजनीतिक परिस्थिति आयो : चन्द्र भण्डारी
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले काठमाडौं महानगरपालिकाको मेयर हुँदा बालेन्द्र शाह (बालेन) लाई तत्कालीन सरकारले आवश्यक कर्मचारी उपलब्ध नगराउँदा अहिलेको राजनीतिक परिस्थिति सिर्जना भएको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर–२ ले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले तत्कालीन सरकार र राजनीतिक दलहरूले बालेनको आग्रहलाई बेवास्ता गरेको परिणाम अहिले भोग्नुपरेको बताएका हुन् ।
महानगरको मेयर हुँदा बालेनले आफूलाई आवश्यक अधिकृत उपलब्ध गराइदिन आग्रह गरेको उनले बताए ।
त्यसबारे आफूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित राजनीतिक दलका शीर्ष नेता तथा मुख्यसचिव र सचिवहरूसँग समेत कुरा गरेको नेता भण्डारीले बताए ।
‘बालेनजी र मेरोबीच नेपालको राजनीतिको बारेमा लामो कुरा भयो । उहाँले मलाई अधिकृत पठाइदिन भन्नुभयो । मैले सबै नेता, मुख्यसचिवदेखि सचिवसम्मलाई भनेँ । केपी ओली र शेरबहादुर दाइलाई पनि भनेँ । तर आफ्नो महत्त्वाकांक्षाले कसैले मानेनन् । आज त्यो कुरा मानेको भए बालेन दोस्रोपटक मेयर उठ्थे,’ भण्डारीले भने ।
पद र व्यक्तिगत महत्त्वाकांक्षाका कारण तत्कालीन नेतृत्वले आवश्यक निर्णय गर्न नसक्दा त्यसको परिणाम देशले भोग्नुपरेको उनको भनाइ थियो । ‘पदका सामुन्ने कसैले मानेनन्, जसको प्रतिफल जेनजी आन्दोलन भयो । अब विगतबाट सिकेर मेहनत गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने ।
भण्डारीले वर्तमान सरकारले विगत ३५ वर्षमा केही भएन भन्ने भाष्य निर्माण गर्न नहुने पनि बताए ।
लोकतान्त्रिक व्यवस्था स्थापना र पूर्वाधार विकासमा विगतका सरकार तथा राजनीतिक दलहरूको योगदान रहेको उल्लेख गर्दै उनले नयाँ नेतृत्वले त्यसलाई स्वीकार गर्नुपर्ने धारणा राखे ।
‘हामीले बनाएको घरभित्र बालेन आएका हुन् । यो घर बनाउन हजारौँको रगत र बलिदान परेको छ । केपी ओलीले कीर्तिपुरको स्टेडियम बनाउन मिहिनेत गर्नुभयो, त्यसको उद्घाटन बालेनजीले गर्नुभयो । आफूले टुँडिखेलमा लगाएको दुबो मात्रै देख्ने प्रवृत्ति राम्रो होइन,’ उनले भने ।
सामाजिक सञ्जालमा दर्शक र समर्थक बढाएर मात्रै सरकार सञ्चालन गर्न नसकिने भन्दै भण्डारीले जनताको काम गरेर जनमत आर्जन गर्न सरकारलाई सुझाव दिए । युवाको ऊर्जा र क्षमतालाई विकास निर्माणमा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।
उनले वर्तमान सरकार पाँच वर्षसम्म चलोस् भन्ने नेपाली कांग्रेसको चाहना रहेको पनि स्पष्ट पारे । सरकारलाई अस्थिर बनाउनेभन्दा आवश्यक सहयोग गरेर काम गर्ने वातावरण बनाउनुपर्ने उनले बताए ।
‘हाम्रो पार्टीले र पार्टी सभापतिले यो सरकार पाँच वर्ष चलोस् भन्ने चाहेका छौँ । हामीले सहयोग गर्छौँ,’ उनले भने, ‘यो देश पाँच–छ वर्षमा समृद्ध बन्न सक्छ । युवालाई नेपालमै राख्ने, सीप र तालिम दिने तथा जनतालाई विकाससँग जोड्ने हो भने सम्भावना धेरै छन् ।’
सरकारका गतिविधिमा गल्ती भए कानुनी प्रक्रियाबाट कारबाही गर्नुपर्ने उल्लेख गर्दै भण्डारीले आरोप–प्रत्यारोपमा अल्झिएर विकासका काम रोक्न नहुने बताए ।
‘यदि गगन थापाले वा नेपाली कांग्रेसको कुनै व्यक्तिले कारबाही गर्नुपर्ने काम गरेको छ भने कारबाही गरेर देखाउनुस् । होइन भने काम गर्न छोडेर नचाहिने काम किन गर्दै हिँडेको ? काम गर्नुस् । यत्रो युवा शक्ति छ, यसको प्रयोग गर्नुपर्दैन ?’ उनले प्रश्न गरे ।
राजनीतिमा भीड र प्रभावभन्दा क्षमता तथा सम्भावनालाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै भण्डारीले विगतमा आफूले विद्यार्थीलाई जिम्मेवारी दिँदा शैक्षिक क्षमता हेरेर अवसर दिएको प्रसंग पनि सुनाए । आफूले चिकित्सक बन्न प्रेरित गरेका एक व्यक्ति अहिले शिक्षण अस्पतालमा छाती रोग विशेषज्ञ बनेको उनले बताए ।
यसैगरी, भण्डारीले पहाड र तराईलाई छुट्याउने प्रयासको विरोध गर्दै नेपालको भौगोलिक एकता र प्राकृतिक स्रोतलाई एकीकृत रूपमा उपयोग गरेर विकास गर्नुपर्ने बताए ।
‘तराईको उत्पादन र पहाडको जलस्रोतले हामीलाई समृद्धितर्फ लैजान सक्छ । नेपालको भूगोल, प्रकृति, स्रोत र साधनलाई छुट्याउनु हुँदैन,’ उनले भने ।
पहाड र तराईलाई अलग गर्ने निर्णय रोक्न आफूले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पुष्पकमल दाहाल र केपी शर्मा ओलीसँग छलफल गरेको प्रसंग उल्लेख गर्दै उनले राष्ट्रिय एकता र भौगोलिक अखण्डताका विषयमा राजनीतिक नेतृत्व गम्भीर हुनुपर्नेमा जोड दिए ।
.gif)

.png)




