सामाजिक सुरक्षा भत्ताको ३१ लाख हिनामिना : प्रमुख प्रशासकीय अधिकृतसहित  पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२०८३ कार्तिक २० शुक्रबार १५:०८ बजे
फाइल फोटो

काठमाडौं : ओखलढुङ्गाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू ओमबहादुर दर्जी र अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी, एमआईएस अपरेटर खिला विक र तत्कालीन वडा अध्यक्ष शुकविर तामाङविरुद्ध बिहीबार आरोपपत्र दायर गरेको हो ।

आयोगको अनुसन्धानअनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा तत्कालीन वडा अध्यक्ष तामाङको दायाँ हातको बुढीऔँलाको छाप ३६० पटक प्रयोग गरी दुई आर्थिक वर्षका तीन–तीनवटै चौमासिकमा सामाजिक सुरक्षा भत्ताबापत २९ लाख १५ हजार २०० रुपैयाँ भुक्तानी लिएको देखिएको छ ।

त्यसैगरी, भत्ता वितरणको नामावलीमा दोहोरो नाम समावेश गरी रकम वितरण गरेको देखाउने, मृत्यु भएका लाभग्राहीको लगत कट्टा नगर्ने तथा बसाइँसराइ गरी अन्यत्र गइसकेका लाभग्राहीको नामसमेत कायम राखेर रकम वितरण गरेको देखाइएको आयोगको आरोप छ ।

यस्ता गलत विवरणसहितका अभिलेख पेस गरी पेश्की फर्छ्योट गराउँदा थप दुई लाख ५२ हजार रुपैयाँ हिनामिना भएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । यसरी कुल ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना भएको आरोपपत्रमा उल्लेख छ ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीविरुद्ध नौ लाख ५३ हजार ६०० रुपैयाँ, अभयकुमार गुप्ताविरुद्ध ११ लाख ६७ हजार २०० रुपैयाँ र निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरीविरुद्ध सात लाख ९४ हजार ४०० रुपैयाँ बिगो कायम गरेको छ ।

त्यस्तै, तत्कालीन वडा अध्यक्ष शुकविर तामाङ र एमआईएस अपरेटर खिला विकविरुद्ध जनही ३१ लाख ६७ हजार २०० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

पाँचै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सार्वजनिक सम्पत्ति हिनामिना तथा दफा ११ बमोजिम सरकारी अभिलेख बदनियतपूर्वक हेरफेर गरेको कसुरमा सजायको मागदाबी गरिएको छ ।

आयोगले बिगो असुलउपर, बिगोबमोजिम जरिवाना र कानुनबमोजिम कैद सजायको माग गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७