९ हजार ५०० घुस लिने भन्सार अधिकृत र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा


२०८३ मङ्सिर ७ सोमबार १५:३६ बजे
फाइल फोटो

काठमाडौं : कुरियरमार्फत विदेशमा सामान पठाउने सेवाग्राहीसँग घुस लिएको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले वैदेशिक हुलाक शाखा, डिल्लीबजारमा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

सेवाग्राहीले विदेशमा कुरियरमार्फत विभिन्न सामान पठाउँदा कर्मचारीहरूले घुस मागेको सूचना र उजुरीका आधारमा अख्तियारको टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जानकारी दिएको छ ।

अनुसन्धानका क्रममा न्यौपाने र पुडासैनीले सेवाग्राहीको सामान विदेश पठाउने प्रक्रियामा विभिन्न बहाना बनाई बार्गेनिङ गर्दै घुस मागेको पुष्टि भएको अख्तियारले जनाएको छ । 

दुवै कर्मचारीले आपसी मिलेमतो र पूर्वयोजनाअनुसार घुसबापत ९ हजार ५०० रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ ।

उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको भन्दै अख्तियारले ९ हजार ५०० रुपैयाँ बिगो कायम गरेको छ ।

आयोगले दुवै प्रतिवादीलाई ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र बिगोबराबर जरिवाना सजायको मागदाबी गरेको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७