तोकिएको कार्यस्थलमा जान नमान्ने कर्मचारीप्रति मन्त्री रावलको असन्तुष्टि
काठमाडौं : सरकारले खटाएको कार्यस्थलमा जान आनाकानी गर्ने कर्मचारीका कारण दुर्गम क्षेत्र र स्थानीय तहमा सार्वजनिक सेवा प्रवाह प्रभावित भएको भन्दै भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले असन्तुष्टि व्यक्त गरेकी छन् ।
राज्यले आवश्यकता र जिम्मेवारीअनुसार खटाएको स्थानमा पुगेर काम गर्नु कर्मचारीको दायित्व भएको उनले बताइन् ।
सोमबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ४१औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रावलले कर्मचारी प्रशासनमा रहेका भनसुन, चलखेल र ढिलासुस्तीजस्ता प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिइन् ।
यस्ता विकृति कायम रहे निजामती सेवाप्रति नागरिकको गुमेको विश्वास पुनःस्थापित गर्न कठिन हुने उनको भनाइ थियो ।
निजामती सेवा ऐन निर्माणमा भइरहेको ढिलाइका लागि कर्मचारीतन्त्रभित्रका कतिपय प्रवृत्ति र प्रक्रियागत कमजोरीसमेत जिम्मेवार रहेको उनले उल्लेख गरिन् । प्रशासनभित्रका गलत अभ्यास सुधार्ने काम उच्च तहका कर्मचारीबाटै सुरु हुनुपर्ने उनको धारणा थियो ।
‘राजनीति र कर्मचारी प्रशासनमा भनसुन र विकृति अन्त्य गर्नुपर्ने छ, त्यो विकृति हटाउने गरी संसद्मा विधेयक दर्ता गरिएको छ, संसद् सुरु हुनेबित्तिकै छलफलमा आउँछ, निजामती सेवाका नवप्रवेशीले यस सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी पूरा गर्नुपर्छ,’ उनले भनिन् ।
राजनीतिक नेतृत्व परिवर्तन भइरहे पनि राज्य सञ्चालनको स्थायी जिम्मेवारी कर्मचारीतन्त्रमै रहने भएकाले कर्मचारीले कानुनसम्मत निर्णय र कार्यसम्पादनमा अडिग रहनुपर्ने मन्त्री रावलले बताइन् ।
‘राजनीतिक नेतृत्व परिवर्तन भइरहन्छ, तर राज्य सञ्चालनको स्थायी जिम्मेवारी कर्मचारीतन्त्रकै हुन्छ । त्यसैले कुनै राजनीतिक नेतृत्वले कानुनविपरीत काम गर्न लगाए पनि कर्मचारीले त्यसलाई अस्वीकार गर्न सक्नुपर्छ,’ उनले भनिन् ।
सार्वजनिक कार्यालयबाट सामान्य सेवा लिनसमेत नागरिकले लामो समय कुर्नुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले सेवाग्राही बिचौलियाको सहारा लिन र अतिरिक्त रकम खर्च गर्न बाध्य हुनु प्रशासनप्रतिको निराशाको कारण बनेको बताइन् ।
नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउनु कर्मचारीको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै उनले सार्वजनिक प्रशासनलाई निष्पक्ष, जनउत्तरदायी र परिणाममुखी बनाउन सरकार र कर्मचारीबीच सहकार्य आवश्यक रहेको बताइन् ।
सोमबारदेखि सुरु भएको छमहिने आधारभूत प्रशासन प्रशिक्षणमा विभिन्न सेवा र समूहका १८९ अधिकृत सहभागी छन् ।
प्रशिक्षणमा सामान्य प्रशासनतर्फ १२८, राजस्व समूहका ३७, लेखापरीक्षण समूहका ११, परराष्ट्र सेवाका नौ र संघीय संसद् सेवाका चार अधिकृत सहभागी छन् ।
.gif)

.png)




