नेसनल मेडिकल कलेजका पीजी आवासीय चिकित्सकले दिए सामूहिक राजीनामा

असुरक्षित र विभेदपूर्ण वातावरणको आरोप लगाउँदै चिकित्सकले छाडे कलेज


२०८३ मङ्सिर ७ सोमबार २२:०९ बजे

वीरगन्ज : वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा स्नातकोत्तर (पीजी) तहमा अध्ययनरत प्रथम वर्षका आवासीय चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन् । कलेजको कार्यशैली र अभ्यासविरुद्ध दुई महिनादेखि आन्दोलन गर्दा पनि माग सम्बोधन नभएको भन्दै उनीहरूले राजीनामा दिएका हुन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सम्बोधन गरी बुझाइएको राजीनामापत्रमा चिकित्सकहरूले असुरक्षित, अपमानजनक र विभेदपूर्ण वातावरणमा आफ्नो तालिमलाई निरन्तरता दिन नसक्ने उल्लेख गरेका छन् । चिकित्सकहरूका अनुसार उनीहरूले कलेजका कार्यशैली र अभ्यासविरुद्ध गत ३१ साउनदेखि शान्तिपूर्ण धर्ना तथा आन्दोलन सुरु गरेका थिए ।

आन्दोलनका क्रममा पछिल्लो दुई महिनामा शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डिन कार्यालय र कलेज प्रशासनसँग पटक–पटक छलफलसमेत भएको थियो ।

छलफलका क्रममा आफूहरूमाथि लगाइएका विभिन्न आरोप तथा कलेजमा देखिएका समस्यासँग सम्बन्धित प्रमाणहरू प्रस्तुत गरेको उनीहरूको दाबी छ । तर, सरोकारवाला निकायले समस्या समाधान गर्नुको सट्टा आश्वासन मात्रै दिएको चिकित्सकहरूले आरोप लगाएका छन् ।

‘हामीले प्रत्येक आरोपका सम्बन्धमा आवश्यक सबै प्रमाणहरू प्रस्तुत गर्‍यौं । तर पनि सरोकारवाला निकायहरूले समस्याको समाधान गर्न सकेनन् र हामीलाई समाधान हुने झुटो आशामा राखियो,’ राजीनामापत्रमा भनिएको छ । समस्या समाधानका लागि पटक–पटक पहल गर्दा पनि सुनुवाइ नभएपछि सामूहिक राजीनामा दिन बाध्य भएको चिकित्सकहरूले बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७