सरकारले भन्यो : प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आधार तयार गर्‍यो

हवाई रुट विस्तारदेखि बन्दरगाह पहुँच र ऊर्जा पूर्वाधारसम्म सहमति, पुराना सन्धि पुनरावलोकनको बाटो पनि खुला


२०८३ मङ्सिर ७ सोमबार २२:३९ बजे

काठमाडौँ :  परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउँदै आर्थिक विकास र समृद्धिका क्षेत्रमा परिणाममुखी सहकार्यको आधार तयार गरेको बताएका छन् ।

प्रधानमन्त्री शाहको भारत भ्रमण सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले भ्रमणले दुई देशबीचको ऐतिहासिक, बहुआयामिक तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाएको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भएको राजकीय भ्रमणका क्रममा कनेक्टिभिटी, ऊर्जा, व्यापार, पूर्वाधार तथा आर्थिक सहकार्यासम्बन्धी महत्त्वपूर्ण सहमति भएको उनले जानकारी दिए ।

भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले ‘विकसित भारत–समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दूरदृष्टि दस्तावेज जारी गरेका छन् । यसले आर्थिक तथा विकास साझेदारी, भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन, विपद् व्यवस्थापन र नवप्रवर्तनलगायत क्षेत्रमा सहकार्यको आधार तयार गरेको मन्त्री खनालले बताए ।

उनका अनुसार दस्तावेजले सन् १९५० को सन्धिसहित पुराना सन्धि तथा सम्झौता पुनरावलोकन र आवश्यकताअनुसार परिमार्जन गर्ने सम्भावनासमेत खोलेको छ ।

हवाई रुट र बन्दरगाह पहुँच विस्तार

भ्रमणको महत्त्वपूर्ण उपलब्धिका रूपमा काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने विषयमा सहमति भएको छ । हाल एकतर्फी सञ्चालनमा रहेको बी–३४५ हवाई मार्ग दुईतर्फी बनाउने सहमतिले हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, नेपालको तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि भारतका कोलकाता र विशाखापट्टनम बन्दरगाहबाहेक गुजरातको दीनदयाल (कान्डला) र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न पहुँच दिने सहमति भएको छ ।

जनकपुर–अयोध्याबीच यात्रुवाहक रेलसेवाको दुवै देशका प्रधानमन्त्रीले भर्चुअल उद्घाटन गरेका छन् । भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेबल पुलको संयुक्त उद्घाटन गरिएको छ भने बनबासामा एकीकृत जाँच चौकी निर्माणको शिलान्यास भएको छ ।

ऊर्जा पूर्वाधारमा संयुक्त लगानी

ऊर्जा सहकार्यअन्तर्गत इनरुवा–न्यू पूर्णिया र दोधारा–बरेली विद्युत् प्रसारण लाइन संयुक्त लगानीमा निर्माण गर्ने सहमति भएको छ । तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्याससमेत गरिएको छ ।

भारतको सहयोगमा निर्माण भएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालनमा ल्याइएको छ । झापा–सिलिगुडी पेट्रोलियम पाइपलाइनको शिलान्यास पनि गरिएको छ ।

लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम रूप दिन सम्बन्धित निकायलाई निर्देशन दिने सहमति भएको मन्त्री खनालले बताए ।

आठ क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर

भ्रमणका क्रममा दुई देशबीच आठ क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । फरेन्सिक विज्ञान तथा अनुसन्धान, सुरक्षा तथा प्रहरी प्रशिक्षण, निजामती कर्मचारीको क्षमता विकास, आयुर्वेद तथा परम्परागत चिकित्सा, दक्षिण एसिया भूउपग्रहको उपयोग, दिगो सहरी विकास, स्वास्थ्य तथा औषधि र पशुपालन तथा मत्स्यपालन विकाससम्बन्धी समझदारी भएका छन् ।

नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को सम्बन्धन प्राप्त क्याम्पस स्थापना गर्ने निर्णयसमेत भएको छ । यसबाट उच्च शिक्षा, अनुसन्धान र दक्ष जनशक्ति विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल–भारत सीमासम्बन्धी विद्यमान विषयमा काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिइएको छ । सीमा स्तम्भको संयुक्त निरीक्षण तथा मर्मतसम्भारलाई पनि निरन्तरता दिने सहमति भएको छ ।

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

भ्रमणका क्रममा नेपाल–भारत व्यापार गोलमेच बैठक आयोजना गरी नेपालको लगानी सम्भावनाबारे भारतीय उद्योगी तथा व्यवसायीलाई जानकारी गराइएको थियो । भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न प्रोत्साहित गरिएको मन्त्री खनालले बताए ।

प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गरेका थिए । भेटमा दुई देशबीचको सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

मन्त्री खनालले भ्रमणले दुई देशबीच आपसी समझदारी, सहयोग र सहकार्य विस्तार गर्दै कूटनीतिक, आर्थिक तथा विकास साझेदारीलाई नयाँ उचाइमा पुर्‍याएको बताए । उनका अनुसार छिमेकी मुलुकका संवेदनशीलता बुझ्ने, आपसी समन्वयमा समस्याको समाधान खोज्ने र द्विपक्षीय हित प्रवर्द्धन गर्ने दृष्टिले पनि भ्रमण फलदायी भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७