धुलिखेल अस्पतालमा नबिल बैंकको सहयोगमा १० शय्याको बर्न केयर वार्ड सञ्चालन
काठमाडौं । नबिल बैंक र धुलिखेल अस्पतालको सहकार्यमा धुलिखेल अस्पताल परिसरमा १० शय्याको विशिष्टीकृत जलन उपचार कक्ष (बर्न केयर वार्ड) सञ्चालनमा आएको छ।
मंगलबार आयोजित कार्यक्रममा नबिल बैंकका सञ्चालक समिति अध्यक्ष निर्वाणकुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकाजु श्रेष्ठले संयुक्त रूपमा वार्डको उद्घाटन गरेका हुन्।
नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल केयर’ अन्तर्गत स्थापना गरिएको वार्डले जलनबाट प्रभावित बिरामीलाई विशेषज्ञ उपचार सेवा उपलब्ध गराउनेछ। यसबाट जलनका बिरामीलाई उपचार, शल्यक्रिया तथा पुनर्स्थापना सेवामा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ।
नेपालमा जलनका घटना जनस्वास्थ्यको महत्वपूर्ण चुनौतीका रूपमा रहँदै आएका छन्। जलनबाट प्रभावित व्यक्तिलाई तत्काल उपचारसँगै विशेषज्ञ चिकित्सा सेवा, शल्यक्रिया, दीर्घकालीन पुनर्स्थापना र मनोसामाजिक सहयोग आवश्यक पर्ने गर्छ। नयाँ वार्डले यस्ता बिरामीलाई एकीकृत उपचार सेवा उपलब्ध गराउन अस्पतालको क्षमता अभिवृद्धि गर्ने विश्वास गरिएको छ।
नबिल बैंकले यसअघि सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा निःशुल्क जलन शल्यक्रिया शिविर सञ्चालन गरिसकेको छ। ती शिविरबाट करिब पाँच सय जलन प्रभावितले उपचार सेवा पाएको बैंकले जनाएको छ।
उद्घाटन समारोहमा नबिल बैंकका अध्यक्ष चौधरीले निजी क्षेत्रले सामाजिक आवश्यकतासँग जोडिएका क्षेत्रमा सक्रिय सहभागिता जनाउनुपर्ने बताए। बैंकको सफलता आर्थिक उपलब्धिमा मात्र नभई समाजमा सिर्जना गरेको सकारात्मक प्रभावबाट पनि मापन हुनुपर्ने उनको भनाइ थियो।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले विशेषज्ञ जलन उपचार सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्न धुलिखेल अस्पतालसँग सहकार्य गरिएको बताए। नयाँ वार्डले उपचार आवश्यक भएका बिरामी र उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ।
धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा। माकाजु श्रेष्ठले नबिल बैंकको सहयोगले नेपालमा विशिष्टीकृत जलन उपचार सेवाको विकासमा योगदान पुग्ने बताए। ग्रामीण तथा दुर्गम क्षेत्रका समुदायलाई समेत विशेषज्ञ उपचार सेवाको पहुँचमा ल्याउने अस्पतालको प्रयासमा यो सहकार्य महत्वपूर्ण हुने उनले उल्लेख गरे।
‘सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा’ भन्ने मान्यतासहित सञ्चालन हुँदै आएको धुलिखेल अस्पतालले सर्वसुलभ स्वास्थ्य सेवामा जोड दिँदै आएको छ। नबिल बर्न केयर वार्डले नेपालमा जलन उपचारको पूर्वाधार र विशेषज्ञ सेवाको विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
.gif)

.png)




