धर्ना बसेका विद्यार्थीमाथि नेसनल मेडिकल कलेजको कुटपिट
काठमाडौं, ७ मंसिर । नेसनल मेडिकल कलेज वीरगन्जमा शुक्रबार दोस्रो दिन धर्नामा बसेका विद्यार्थीलाई कलेज प्रशासनले कुटपिट गरेको छ।
विद्यार्थीका अनुसार शुक्रबार कलेज प्रशासनका व्यक्ति आएर धर्नामा बसेका केही छात्रामाथि दुर्व्यवहार गरेका हुन्। ‘धर्नाका क्रममा कलेज प्रशासनबाट आएका व्यक्तिले आक्रमण गरे,’ एक विद्यार्थीले भने।
प्रहरीको सुरक्षा घेरामै विद्यार्थीमाथि कलेजबाट दुर्व्यवहार भएको उनले बताए। यो घटना भएपछि विद्यार्थीले सुरक्षाको माग राख्दै प्रहरीमा पुगेका थिए। उनीहरू राति साढे १२ बजेसम्म प्रहरीमा बसेका थिए।
विद्यार्थीले साँझ ५ बजेसम्म कलेज हातामा धर्ना दिएका थिए। मेडिकल कलेजले गैरकानुनी शुल्क उठाएको बिरोधमा धर्नामा बसेका विद्यार्थीलाई नेसनल मेडिकल कलेज वीरगन्जले बिहीबार छ घन्टा होस्टल बस्न रोक लगाएको थियो। आक्रमणम नै गर्न थालेपछि विद्यार्थी र्यालीसहित प्रहरीमा पुगेका थिए। कलेजका सञ्चालक बसरुद्दिन अन्सारीले धर्नाका क्रममा विद्यार्थीसँग भनाभन भएको बताए। तर, आक्रमण भएकोबारे आफूलाई जानकारी नभएको बताए।
नेसनल मेडिकल कलेजले सरकारले तोकेभन्दा झन्डै छ लाख शुल्क उठाएपछि विद्यार्थीहरू आन्दोलन गरिरहेका छन्। शिक्षा मन्त्रालयले केही दिनअघि बढी उठाइएको शुल्क फिर्ता गर्न मेडिकल कलेजहरूलाई निर्देशनसहित कारबाहीको चेतावनी दिएको थियो।
.gif)

.png)




