३३ लाख घुस प्रकरण : मोबिलाइजेसन फण्ड भुक्तानी गराइदिने भन्दै घिमिरेले मागेका थिए रकम
काठमाडौं : ३३ लाख रुपैयाँ घुससहित पक्राउ परेका मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले ठेक्का सम्झौताअनुसारको मोबिलाइजेसन फण्ड भुक्तानी तथा बाँकी काममा सहजीकरण गरिदिने आश्वासन दिएर घुस मागेको खुलेको छ ।
घिमिरे र गुड नेबर्स इन्टरप्राइजेज प्रालि, कोटेश्वरका सञ्चालक वरुण ढुङ्गेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार निकोसेराबाट पक्राउ गरेको थियो ।
अख्तियारका अनुसार ठेक्का सम्झौताबमोजिम नियमानुसार बाँकी रहेको मोबिलाइजेसन फण्डको किस्ता भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने र अन्य बाँकी कामसमेत अघि बढाइदिने भन्दै सेवाग्राहीसँग घुस मागिएको सूचना तथा उजुरी आयोगमा परेको थियो ।
उक्त उजुरीका आधारमा आयोगले अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा घिमिरे र ढुङ्गेललाई ३३ लाख रुपैयाँ घुससहित पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जनालाई विशेष अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
.gif)

.png)




