ललितपुरका १३ फार्मेसीले बिनाप्रिस्क्रिप्सन बेच्दै थिए एन्टिबायोटिक
काठमाडौं : औषधि व्यवस्था विभागको अनुगमनका क्रममा ललितपुरका १३ वटा फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक औषधि बिक्रीवितरण गर्ने गरेको पाइएको छ ।
विभागले ललितपुरका १६ वटा कम्युनिटी फार्मेसीमा छड्के अनुगमन गर्दा १३ वटाले चिकित्सकको सिफारिसबिनै प्रतिजैविक औषधि बिक्री गर्ने गरेको फेला पारेको हो ।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले अनुगमनका क्रममा अधिकांश फार्मेसीमा एन्टिबायोटिक औषधिको दुरुपयोग भएको पाइएको जानकारी दिए ।
‘ललितपुरका १६ वटा फार्मेसीमा अनुगमन गर्दा प्रतिजैविक औषधिको दुरुपयोग हुने गरेको देखिन्छ । १६ वटा कम्युनिटी फार्मेसीमध्ये १३ वटाले चिकित्सकको प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक ओभर द काउन्टर गरिरहेको पाइएको छ,’ उनले भने ।
विभागका अनुसार महालक्ष्मी नगरपालिका–१ स्थित अन्विका फार्मेसी, भर्टेक्स फार्मेसी र इजी फार्मेसीमा बिनाप्रिस्क्रिप्सन एन्टिबायोटिक बिक्री भइरहेको पाइएको छ ।
त्यस्तै, ललितपुर महानगरपालिका–१५ स्थित विश्वास फार्मेसीसहित महानगरपालिका–२, ३, ४ र ७ मा सञ्चालित अन्य फार्मेसीमा पनि यस्तो अभ्यास भेटिएको विभागले जनाएको छ ।
महानिर्देशक भट्टराईले चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक बिक्रीवितरण गर्ने फार्मेसीमाथि कानुनअनुसार कारबाही गरिने बताए ।
.gif)

.png)




