सुदूरपश्चिम प्रदेशसभा बैठक फेरि अवरुद्ध


२०८३ कार्तिक २१ शनिबार १९:५१ बजे
फाइल फोटो

कैलाली : बजेटप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी दलका सांसदहरूले सरकारको राजीनामा मागेर नाराबाजी गरेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।

करिब एक महिनापछि शनिबार बसेको प्रदेशसभा बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो । 

नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले सदनमा नाराबाजी गर्दै सरकारको विरोध गरेपछि बैठक सञ्चालन हुन नसकेको हो ।

शनिबारको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका तर्फबाट सांसदहरूलाई धारणा राख्न विशेष समय छुट्याइएको थियो ।

बैठक सुरु भएलगत्तै कांग्रेसका प्रदेशसभा सदस्य विक्रम धामीले बजेटप्रति असन्तुष्टि जनाउँदै सरकारको आलोचना गरेका थिए ।

उनले सरकारले ल्याएको बजेट अपुरो, अधुरो र अपर्याप्त रहेको भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरे ।

‘अर्थमन्त्री स्वयंले बजेट गलत भएको आशयको लामो वक्तव्य दिनुभएको छ । सभामुखज्यूबाट पनि यो बजेट अपुरो, अधुरो र अपर्याप्त रहेको भन्दै त्यसका लागि सात सदस्यीय संसदीय समिति बनाउने र बजेट संशोधन गर्ने आशय व्यक्त भएको छ,’ धामीले भने, ‘सभामुख र स्वयं अर्थमन्त्रीबाट समेत बजेट गलत भएको आशय व्यक्त हुँदा सरकारले राजीनामा दिनुपर्छ ।’

उनले सरकारको राजीनामाको विषय बैठकको कार्यसूचीमा समावेश नगरिएको भन्दै आपत्तिसमेत जनाए ।

‘हामीले आज राजीनामा दिने विषय कार्यसूचीमा आउला भन्ने सोचेका थियौँ,’ उनले भने, ‘यो सरकारको अविलम्ब राजीनामा माग गर्दछौँ ।’

धामीले सरकारको राजीनामा माग गरेलगत्तै कांग्रेस र राप्रपाका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर नाराबाजीमा उत्रिएका थिए ।

उनीहरूले ‘आफैँले आफैँलाई गलत भन्ने सरकार, राजीनामा दे’, ‘असफल सरकार, राजीनामा दे’ र ‘संवैधानिक मर्यादाको उल्लंघन गर्ने सरकार, राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।

प्रतिपक्षी सांसदहरूको अवरोधपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । 

तर, निर्धारित समयमा बैठक पुनः बस्न नसकेपछि सभामुखकै निर्देशनमा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयकी सूचना अधिकारी ताराकुमारी जोशीका अनुसार सुरुमा आधा घण्टाका लागि स्थगित गरिएको बैठक पछि सभामुखको निर्देशनअनुसार अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७