प्रधानमन्त्री बालेनसँग भारतीय विदेश सचिवको भेट

भारत भ्रमणको तयारी तीव्र


२०८३ कार्तिक १९ बिहीबार १८:३७ बजे

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । 

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण, द्विपक्षीय सहकार्य र अयोध्या–जनकपुर रेलमार्ग सञ्चालनलगायत विषयमा छलफल भएको थियो ।

भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको रसुवा–भोटेकोशी बाढीपछि भारतले तत्काल राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली खटाएर गरेको सहयोगप्रति आभार व्यक्त गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल विपद्को सामना गरिरहेका बेला टेलिफोनमार्फत सहयोगको प्रतिबद्धता जनाएकामा पनि प्रधानमन्त्री शाहले धन्यवाद दिए ।

उनले नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग गर्न सकिने सहकार्यबारे समेत चासो राखेका थिए ।

भेटमा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको जानकारी गराए ।

भारतीय प्रधानमन्त्री मोदीको सन्देश सुनाउँदै उनले भ्रमण सफल बनाउन भारतले आवश्यक तयारी गरिरहेको बताए ।

मिस्रीले ऊर्जा, जलस्रोत, व्यापार तथा पारवहन र उड्डयनसम्बन्धी नेपाल–भारत द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको पनि जानकारी गराए ।

उनले भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको बताए ।

उक्त मार्गमा बिहीबार नै रेल परीक्षणसमेत गरिएको जानकारी उनले प्रधानमन्त्री शाहलाई गराएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७