अत्याधुनिक उपकरणसहित ४४ सदस्ययीय कोरियाली उद्धार टोली नेपालमा
त्रिशूली–१ मा खोजी थाल्ने
काठमाडौं : भोटेकोशी–त्रिशूली बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा सम्पर्कविहीन भएका व्यक्तिको खोजी तथा उद्धारका लागि दक्षिण कोरियाको विशेष उद्धार टोली नेपाल आइपुगेको छ । दक्षिण कोरियाली विदेश मन्त्रालय, कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका) र अग्नि नियन्त्रण निकायका अधिकारीसहित ४४ सदस्यीय टोली बुधबार बिहान काठमाडौं आइपुगेको हो। दक्षिण कोरियाली वायुसेनाको केसी–३३० सिग्नस बहुउद्देश्यीय ट्यांकर तथा सैनिक यातायात विमानमार्फत टोली नेपाल आएको हो।
टोलीले नेपाली अधिकारी तथा नेपालमा यसअघि खटिएको दक्षिण कोरियाली सरकारी आपतकालीन प्रतिक्रिया टोलीसँग समन्वय गरी माथिल्लो त्रिशूली–१ आयोजनामा खोज तथा उद्धार अभियान सञ्चालन गर्नेछ। टोलीको नेपाल बसाइँ करिब १० दिनका लागि तय गरिएको छ। घटनास्थलको अवस्थाअनुसार अवधि थप गर्न सकिने जनाइएको छ।

कोरियाली टोलीले पाँचवटा उद्धार कुकुरसहित उच्च क्षमताका ड्रोन, भग्नावशेषभित्र रहेका व्यक्तिको अवस्था पत्ता लगाउने ध्वनि तथा भिडियो उपकरण र थर्मल इमेजिङ डिटेक्टर लगायतका आधुनिक उद्धार सामग्री ल्याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार बाढीपछि माथिल्लो त्रिशूली–१ आयोजनामा ५७६ जना सम्पर्कविहीन छन् भने करिब ३०० जना सुरुङभित्र फसेको अनुमान गरिएको छ।
सम्पर्कविहीनमध्ये नौ जना दक्षिण कोरियाली नागरिक छन्। तीमध्ये छ जना दुसान इनर्जिबिलिटी र तीन जना कोरिया साउथ–इस्ट पावर कम्पनीका कर्मचारी हुन्। कोरियाली उद्धार टोली यसअघि नै बाढी प्रभावित रसुवाको धुन्चेसम्म पुगेको छ। धुन्चे माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको माथिल्लो बाँधबाट करिब दुई किलोमिटर टाढा पर्छ।

कोरियाली अधिकारीका अनुसार नेपाली सेनासँगको सहकार्यमा हेलिकप्टर, ड्रोन र स्थलमार्गबाट संयुक्त खोजी अभियान सञ्चालन गरिनेछ। बेपत्ता व्यक्तिको मोबाइल फोनको लोकेसन ट्र्याक गर्न सकिने सम्भावनाबारे पनि नेपाली अधिकारीसँग छलफल भइरहेको छ। बेपत्ता व्यक्तिहरू रहेको हुनसक्ने स्थान पहिचान गर्न टोलीले नेपाली सेना, स्थानीय अधिकारी र घटनाबाट बाँचेकाहरूसँग समेत जानकारी लिइरहेको छ।
यसअघि सम्बन्धित कम्पनीहरूले पनि ड्रोन, हेलिकप्टर तथा उद्धार कुकुर परिचालन गर्दै आएका थिए। दुसान इनर्जिबिलिटीले हवाई खोजीका क्रममा खिचिएका भिडियो फुटेजको विस्तृत विश्लेषण गर्ने तयारी गरेको छ भने कोरिया साउथ–इस्ट पावरले पनि ड्रोन र उद्धार कुकुर प्रयोग गरिरहेको छ।

बाढीबाट प्रभावित ठूलो क्षेत्र, विकट भूगोल तथा माटो र भग्नावशेष थुप्रिएका कारण खोज तथा उद्धार अभियान चुनौतीपूर्ण बन्दै आएको छ। आफ्ना नागरिकसमेत सम्पर्कविहीन रहेको आयोजनामा उद्धारका लागि दक्षिण कोरियाले यसअघि नै विशेष प्राविधिक टोली पठाउन चासो देखाएको थियो। नेपालले अनुमति नदिएका कारण भारतीय र चिनियाँ प्राविधिक टोलीबाहेक अन्य मुलुकका उद्धार टोली घटनास्थलमा परिचालन हुन सकेका थिएनन्।
.gif)

.png)

