ग्लोबल आइएमई बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र करसहित ६ प्रतिशत नगद लाभांश रहेको बैंकले जनाएको छ।
सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। त्यसपछि बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ। ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधि र ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको जनाएको छ। बैंकले सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको जनाएको छ।
बैंकका अनुसार मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक ग्लोबल आइएमई हो। हाल बैंकका ३४१ शाखा, ३६६ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा छन्। बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।
बैंकले विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै आएको र यसमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको दाबी गरेको छ।
.gif)

.png)

