लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो
काठमाडौं : रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट नेपाली सेनाको उद्धार टोलीले दुई जनाको शव निकालेको छ। सुरुङमा खोजी तथा उद्धारका लागि खटिएको नेपाली सेनाको टोलीले बिहीबार दुई जनाको शव निकालेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिए।
बुधबार आयोजनाका हाइड्रो-मेकानिकल इन्जिनियरसहित ७–८ जनाको प्राविधिक टोली खाली पेनस्टक पाइपभित्र प्रवेश गरेको थियो। टोली करिब १५० मिटर माथिसम्म पुगेको थियो। सेनाको टोलीले आज सोही बाटो प्रयोग गरेर दुई जनाको शव बाहिर निकालेको हो। यसअघि सरकारी उद्धार टोलीले सुरुङको मुख्य बाटोबाट भित्र प्रवेश गरेर खोजी गर्ने प्रयास गरेको थियो।
तर सुरुङभित्र ढुंगा, माटो र लेदो भरिएकाले उद्धार टोली करिब १०० मिटरभित्र पुगेपछि अघि बढ्न सकेको थिएन। त्यसपछि आयोजनाका प्राविधिकसहितको टोलीलाई समेत खोजी तथा उद्धारमा परिचालन गरिएको थियो। दुई शव निकालिए पनि सुरुङभित्र खोजी कार्य भने जारी रहेको महाप्रबन्धक भट्टराईले बताएका छन्।
२० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत २५ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ। सुरुङभित्र फसेका अन्य व्यक्तिको अवस्थाबारे यकिन गर्न उद्धार टोलीले खोजी जारी राखेको छ।
.gif)

.png)

