सुरुङ उद्धारमा ढिलाइ गरेर सरकारले अपराध गर्यो : विश्वप्रकाश शर्मा
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारमा सरकारले ढिलाइ गरेको भन्दै आलोचना गरेका छन्। कांग्रेसको नीति प्रतिष्ठानको बैठकमा बोल्दै शर्माले प्राविधिक रूपमा उद्धार गर्नुपर्ने अवस्थामा सरकारका मन्त्रीहरू प्रचारमा रमाएको आरोप लगाए। उनले उद्धार कार्यमा भएको ढिलाइलाई मानवताविरुद्धको अपराधसरहको व्यवहार भएको टिप्पणी गरे।
नेता शर्माले भोटेकोशीमा विपत्ति आएलगत्तै राष्ट्रिय विपद्को सामना एकताका साथ गर्नुपर्ने नीतिअनुसार कांग्रेसले सरकारलाई सहयोग गरेको बताए। तर, सरकारलाई सहयोग गर्दागर्दै पनि आलोचना र खबरदारी गर्नुपर्ने अवस्थामा कांग्रेस पुगेको उनको भनाइ थियो। बैठकमा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतको अवस्थाबारे स्थानीय जनप्रतिनिधिसँग छलफलसमेत गरिएको थियो।
रसुवा, नुवाकोट र धादिङका कांग्रेस सभापतिहरूले प्रभावित नागरिकले समयमै उद्धार र राहत नपाएको जानकारी गराए। संघीय सरकारले स्थानीय सरकार तथा जनप्रतिनिधिलाई बेवास्ता गरेर अघि बढ्न खोज्दा समस्या भएको उनीहरूले बताए। छलफलका क्रममा शवगृहमा राखिएका शवसमेत लुटपाट भएको भन्दै सहभागीहरूले आपत्ति जनाए। सत्तारूढ दलका नेता–कार्यकर्ताले प्रभावित क्षेत्रमा सहज पहुँच पाए पनि निर्वाचित जनप्रतिनिधिलाई निषेध गरिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरे। प्रतिष्ठानले विपद्को सामना गर्न स्थानीय तहबीच समन्वय र सहकार्य बढाउनसमेत आग्रह गरेको छ। एउटालाई परेको विपत्तिमा अर्कोले सहयोग गर्ने भावनाका साथ राहत तथा उद्धारमा जुट्न स्थानीय तहलाई आग्रह गरिएको हो।
छलफलमा नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना, गाउँपालिका राष्ट्रिय महासंघका निवर्तमान महासचिव वंशलाल तामाङसहित रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा कांग्रेस प्रतिनिधिहरू सहभागी थिए।
.gif)

.png)

