सशस्त्र प्रहरीका मृतक परिवारलाई २५ लाख, कल्याण कोषको ऋण मिनाहा

‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १५ करोड ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय


२०८३ भदौ १८ बिहीबार २०:४३ बजे

काठमाडौं :  सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका आफ्ना कर्मचारीका परिवारलाई प्रतिपरिवार २५ लाख रुपैयाँ तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा बिहीबार बसेको परामर्श समितिको बैठकले बाढीमा ज्यान गुमाएका कर्मचारीका परिवारलाई आर्थिक राहतसहित विभिन्न सुविधा उपलब्ध गराउने निर्णय गरेको हो।

निर्णयअनुसार मृतक कर्मचारीका परिवारलाई १५ लाख रुपैयाँ सशस्त्र प्रहरी राष्ट्रसेवकहरूको तर्फबाट र सरकारी मापदण्डअनुसार १० लाख रुपैयाँ गरी कुल २५ लाख रुपैयाँ प्रदान गरिनेछ।

त्यस्तै, मृतक कर्मचारीले कल्याण कोषबाट लिएको ऋणको बाँकी रकम पूर्ण रूपमा मिनाहा गरिने भएको छ। मृतकका सन्तानलाई नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म शैक्षिक शुल्क छुट दिने व्यवस्था पनि गरिएको छ।

आश्रित परिवारका एक–एक जना सदस्यलाई स्वरोजगारका लागि सीपमूलक तालिम उपलब्ध गराउने निर्णयसमेत भएको सशस्त्र प्रहरीले जनाएको छ।

यसैबीच, सशस्त्र प्रहरी बलका सम्पूर्ण राष्ट्रसेवकको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय भएको छ।

उक्त रकमका लागि महानिरीक्षक तथा अतिरिक्त महानिरीक्षकले १५ दिन, नायव महानिरीक्षक तथा वरिष्ठ उपरीक्षकले १२ दिन, उपरीक्षकदेखि निरीक्षकसम्मले १० दिन, जुनियर अधिकृतले ७ दिन, हवल्दारदेखि जवानसम्मले ५ दिन र परिचरले ३ दिनको तलब बराबरको रकम योगदान गर्नेछन्।

बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीको स्मृतिमा उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने निर्णय पनि गरिएको छ। त्यस्तै, बाढीमा परेर ज्यान जोगाउन सफल पाँच जना सशस्त्र प्रहरी कर्मचारीलाई प्रोत्साहनस्वरूप जनही ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ।

बाढीमा सशस्त्र प्रहरी कर्मचारीका परिवारका सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति १ लाख रुपैयाँ सहयोग दिइनेछ। बाढी प्रभावित अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा १ लाख, घरबारविहीन भएमा १ लाख र घाइते भएमा ५० हजार रुपैयाँसम्म सहयोग गर्ने निर्णयसमेत भएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७