बाढीपीडितबारे जातीय सद्भाव खल्बल्याउने अभिव्यक्ति दिने एक जना पक्राउ


२०८३ भदौ २२ सोमबार १३:०६ बजे

काठमाडौं : भोटेकोशीमा आएको भीषण बाढी र त्यसबाट भएको जनधनको क्षतिलाई लिएर आपत्तिजनक भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, बलम्बुमा बस्दै आएका २४ वर्षीय बिरेन्द्र मडै रहेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार मडैले भदौ १० गते आएको बाढीबाट भएको जनधनको क्षतिलाई लिएर विभिन्न जातजातिलाई लक्षित गर्दै होच्याउने तथा अपमानजनक अभिव्यक्ति दिएका थिए। 

उनले बाढीबाट सिर्जित विपत्तिप्रति खुशी व्यक्त गर्दै भिडियोसमेत बनाएर सामाजिक सञ्जालमा प्रसारण गरेको आरोप छ। उक्त सामग्रीबारे जानकारी पाएपछि साइबर ब्यूरोले प्राविधिक विश्लेषणसहित अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा मडैलाई भदौ २० गते पक्राउ गरिएको ब्यूरोले जनाएको छ। पक्राउ परेका मडैविरुद्ध जिल्ला अदालत काठमाडौंमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा म्याद थप गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७