सुरुङदेखि सडकसम्म सेनाको उद्धार अभियान तीव्र, ९ हजार बढी सैनिक खटिए
तीन दिनमा ३ हजार ९६७ जनाको हवाई उद्धार
काठमाडौं : बाढी तथा पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ । सेनाकाअनुसार हालसम्म ३ हजार ९६७ जनाको हवाई उद्धार गरिएको छ । शनिबार दिउँसो १ बजेसम्म नेपाली सेनाले विभिन्न प्रभावित क्षेत्रबाट थप ५ जनाको हवाई उद्धार गरेको हो । हालसम्म उद्धार गरिएकामध्ये ३ हजार ६९२ जना नेपाली र २७५ जना विदेशी नागरिक रहेका छन् ।
सेनाले रसुवादेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा ९ हजार ३ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन गरेको जनाएको छ । उनीहरू घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारमा खटिएका छन् ।
नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ टोलीले पुल निर्माणलाई तीव्रता दिएको छ । ५५ जनाको टोलीले ६० मिटर लामो, ५.५ मिटर चौडा र ५० टन क्षमताको एक्रो ब्रिज निर्माण गरिरहेको सेनाले जनाएको छ ।
यसैगरी रसुवागढी जलविद्युत आयोजनामा सेनाको उद्धार टोली (CQRT) तथा आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस र कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी गरिरहेको छ । त्रिशूली–३ ए आयोजनाको पावरहाउस तथा सुरुङमा ८ जना सैनिक उद्धार उपकरणसहित खोजीमा खटिएका छन् । त्रिशूली–३ बी आयोजनामा अडिट–२ बाट प्रवेश गरेको टोली अडिट–१ बाट बाहिरिएको छ । अहिले अडिट–२ सुरुङबाट एक्स्काभेटर लैजान सक्ने गरी बाटो सफा गर्ने काम भइरहेको छ ।
चिलिमे हाइड्रोपावरमा नेपाली तथा विदेशी सदस्य सम्मिलित टोलीले मिनी एक्स्काभेटर र मड पम्पको प्रयोग गरी लेदो हटाउँदै पावरहाउस नजिक पुग्ने प्रयास गरिरहेको छ । सेनाका अनुसार टोली पावरहाउसबाट करिब ५०–६० मिटरको दूरीमा पुगेको छ । स्याफ्रुबेंसीमा स्लिङ अपरेसनमार्फत एक्स्काभेटर टनेल क्षेत्रमा पुर्याउने काम भइरहेको छ । माथिल्लो त्रिशूली–१ मा विदेशीसहितको टोलीले थर्मल क्यामेरामार्फत सुरुङभित्र थप खोजी गर्ने तयारी गरेको छ ।
३२९८ जनाले पाए स्वास्थ्य सेवा
सेनाले प्रभावित क्षेत्रमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट हालसम्म ३ हजार २९८ जनाले स्वास्थ्य सेवा लिएका छन् । मैलुङदेखि स्याफ्रुबेंसीसम्म पैदल गस्तीमार्फत पनि खोज तथा उद्धार कार्य भइरहेको सेनाले जनाएको छ । यसैबीच सेनाले त्रिशूलीका लागि हवाई माध्यमबाट २० वटा अक्सिजन सिलिन्डर समेत ढुवानी गरेको छ । सेनाका अनुसार प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत सामग्री ढुवानी, सडक तथा पुल सञ्चालन र स्वास्थ्य उपचारका कामलाई एकसाथ अघि बढाइएको छ ।
.gif)

.png)

