पार्क बनाएर मात्रै जेनजी सहिदले न्याय पाउँदैनन् : गृहमन्त्री गुरुङ
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका सहिदहरूले देखेको सपना पूरा गर्ने दिशामा सरकार दृढताका साथ अघि बढिरहेको बताएका छन्। जेनजी स्मृति पार्कको शिलान्यास कार्यक्रममा बोल्दै उनले आन्दोलनका क्रममा व्यक्त भएका आकांक्षा, सहिदहरूको बलिदान र जनताको अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिएको बताए। ‘सहिदहरूको सपना पूरा गर्न केही समय लाग्न सक्छ, तर सरकार त्यसको उद्देश्य पूरा गर्ने दिशामा अघि बढिरहेको छ,’ उनले भने।
गृहमन्त्री गुरुङले स्मृति पार्क निर्माण गर्नु मात्रै सहिदहरूप्रतिको दायित्व पूरा भएको नमानिने बताए। पार्क बनाएर मात्रै जेनजी सहिदले न्याय नपाउने भन्दै उनले अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे। उनले सरकारका तर्फबाट गरिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्न प्रशासनिक प्रक्रिया तथा विकास निर्माणका कामलाई तीव्रता दिइरहेको बताए। ‘जनतासामु गरेका प्रतिबद्धताहरूलाई परिणाममा बदल्न सरकार केन्द्रित छ,’ उनले भने।
जेनजी आन्दोलनका सहिदहरूको स्मृतिमा निर्माण हुन लागेको पार्कमा उनीहरूको शालिकसमेत स्थापना गरिनेछ। सरकारले पार्क निर्माणलाई आन्दोलनका सहिदहरूको योगदान र स्मृतिलाई सम्मान गर्ने एउटा माध्यमका रूपमा अघि बढाएको जनाएको छ। गृहमन्त्री गुरुङले भने सहिदहरूको बलिदानको सम्मान केवल स्मारक निर्माणमा सीमित नराखी उनीहरूले देखेको परिवर्तनको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए।
.gif)

.png)

