झरी रोकिएपनि काठमाडौंमा हुस्सु, नदीमा बाढीको जोखिम कायमै


२०८३ असोज १२ सोमबार ०७:०७ बजे

काठमाडौं : लगातारको झरी रोकिएपछि काठमाडौं उपत्यकामा सोमबार बिहान हुस्सु लागेको छ। वर्षापछि पहिलो बिहान हुस्सु लागेसँगै उपत्यकामा चिसोसमेत बढेको छ। 

मौसमविद्का अनुसार केही समयपछि हुस्सु हटेर मौसम घमाइलो हुने सम्भावना छ। बुधबार बेलुकीदेखि देशका धेरै क्षेत्रमा सुरु भएको लगातारको वर्षा गएरातिदेखि अधिकांश स्थानमा रोकिएको छ। 

पश्चिमी क्षेत्रमा आइतबार बेलुकीसम्म सक्रिय रहेको वर्षा रातिदेखि रोकिएको हो। पूर्वी क्षेत्रमा भने आइतबार बिहानदेखि नै वर्षा रोकिएको थियो भने मध्य क्षेत्रमा दिउँसोदेखि पानी पर्न कम हुँदै गएको थियो। 

वर्षा रोकिएसँगै काठमाडौं उपत्यकासहित धेरै क्षेत्रमा घाम देखिन थालेको छ। तर, वर्षा रोकिए पनि बाढीको जोखिम भने तत्काल पूर्णरूपमा हटिसकेको छैन। 

यसअघि बाढी आएका नदी तथा खोलामा पानीको सतह अझै जोखिमपूर्ण अवस्थामा रहन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाउनुपर्ने अवस्था रहेको  बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार नारायणी नदीमा सोमबार दिउँसोसम्म तथा कालीगण्डकी नदीमा बिहानसम्म बाढीको जोखिम रहेको छ।

यसैबीच देशका केही भूभागमा आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान छ।

वर्षा कम हुँदै गए पनि नदीमा यसअघि बढेको पानीको बहाव र पहाडी क्षेत्रमा पहिरोको जोखिम कायम रहेकाले यात्रा गर्दा तथा नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७