काठमाडौंमा बढ्यो बाढीको जोखिम, आवतजावतमा रोक (तस्बिर)
काठमाडौं : निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न खोलामा पानीको बहाव बढेपछि नदी तथा खोला किनारका बस्ती जोखिममा परेका छन्। सम्भावित जोखिमलाई मध्यनजर गर्दै केही स्थानमा पैदल तथा सवारी आवतजावतसमेत रोक लगाइएको छ।
काठमाडौंको टेकुस्थित वंशीघाटमा बागमती खोलाको पानीको सतह बढेको छ। लगातारको वर्षाका कारण बागमतीमा पानीको बहाव बढ्दै गएपछि नदी किनारका क्षेत्रमा सतर्कता बढाइएको छ।
यस्तै, ललितपुरको च्यासलस्थित मनोहरा खोलामा पनि पानीको बहाव बढेको छ। खोलाको पानी मनोहरा पुलसम्म पुगेपछि सुरक्षाकर्मीले उक्त क्षेत्रमा आवतजावतमा रोक लगाएका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै उद्धार टोलीसमेत परिचालन गरिएको छ।
.jpg)
बल्खु खोलामा पानीको बहाव बढ्दा एक घरसमेत जोखिममा परेको छ। काठमाडौंका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार प्रहरी वृत्त कालिमाटी र काठमाडौं महानगरपालिकाको संयुक्त प्रयासमा जोखिममा परेको घरमा डेरा गरी बस्ने ६ परिवारलाई अन्यत्र सारिएको छ। उनीहरूलाई महानगरपालिकाले सुरक्षित स्थानमा सार्ने व्यवस्था गरेको हो।
.jpg)
काठमाडौंका अन्य खोला किनारमा समेत जलसतह बढेकाले जोखिमयुक्त क्षेत्रमा यातायात तथा पैदल आवतजावत बन्द गरिएको प्रहरीले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै पर्याप्त संख्यामा प्रहरी परिचालन गरिएको एसपी थापाले बताए।
लगातारको वर्षासँगै खोला तथा नदीको जलसतह थप बढ्न सक्ने भएकाले नदी किनार र डुबानको जोखिम भएका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सरकारले समेत अत्यावश्यक कामबाहेक यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रमा नबस्न आग्रह गरेको छ।

.jpg)
.jpg)
.gif)

.png)


