कपिलवस्तुका सीडीओले दिए राजीनामा
काठमाडौं : कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनार्दन गौतमले राजीनामा दिएका छन्।
सहसचिव गौतमले असोज १४ गतेदेखि लागू हुने गरी बिहीबार गृह मन्त्रालयमा राजीनामा बुझाएका हुन्। अनिवार्य अवकाशको करिब सात महिना अवधि बाँकी छँदै उनले राजीनामा दिए।
५८ वर्षको उमेर हदका कारण गौतम २०८४ वैशाख ५ गते अनिवार्य अवकाशमा जाने थिए। तर, त्यसअघि नै उनले सरकारी सेवाबाट बाहिरिने निर्णय गरेका हुन्।
गौतम कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीका रूपमा करिब ११ महिना कार्यरत रहे। उनी गत कात्तिक १३ गते कपिलवस्तुको सीडीओका रूपमा हाजिर भएका थिए।
२०७७ चैतमा सहसचिव भएका गौतमले उदयपुर, सप्तरी, सिन्धुली, तनहुँ, गुल्मी र कपिलवस्तुलगायत जिल्लाको प्रशासनिक नेतृत्व सम्हालेका छन्।
यसअघि झापाका तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र दोलखाका सीडीओ हरिप्रसाद घिमिरेले पनि सेवाबाट राजीनामा दिएका थिए।
.gif)

.png)


