हुम्लामा जडीबुटी संकलन गर्न पुगेका एकको मृत्यु
सुर्खेत : हुम्लाको उच्च हिमाली क्षेत्रमा जडीबुटी संकलन गर्न पुगेका मुगुका स्थानीयमध्ये दुई जना अझै सम्पर्कविहीन छन्।
कटुको जडीबुटी संकलनका लागि गएको १३ जनाको समूहका एक जनाको हिउँमा परी मृत्यु भएको छ भने अन्य १० जना भने सम्पर्कमा आएका छन्।
मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ पापु र छाइलका स्थानीय १३ जना २८ भदौमा हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनको मिमि पाटन पुगेको प्रहरीले जनाएको छ।
सम्पर्कविहीन हुनेहरूमा मुगुम कार्मारोङ गाउँपालिका–९ का ३६ वर्षीय ललितजंग बढुवाल र २६ वर्षीय अंख रोकाय रहेका छन्। उनीहरू अझै सम्पर्कमा नआएको जानकारी गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय मुगुलाई गराएको छ।
यस्तै, सोही समूहका २२ वर्षीय गणेश बुढाको भने हिउँमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिए।
उनीहरू कटुको संकलन गरिरहेका बेला सामुदायिक वन उपभोक्ता समितिले जडीबुटी संकलन गर्न रोक लगाएपछि फर्किएको प्रहरीले जनाएको छ। फर्कने क्रममा घुँडासम्म हिउँ जमेको क्षेत्रमा बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने र त्यहाँ लगातार भारी हिमपात भइरहेकाले खोजी तथा उद्धारमा कठिनाइ भइरहेको डीएसपी थपलियाले बताए।
उनका अनुसार मिमि पाटनबाट फर्किँदा अग्लो हिमाली क्षेत्र पार गर्नुपर्ने र अत्यधिक हिउँका कारण सम्पर्क स्थापित गर्न कठिन भएको छ।
प्रारम्भिक रूपमा हिउँबाट जोगिने क्रममा बुढाको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।
यसैबीच प्रहरीका अनुसार पापुका २८ वर्षीय बलबहादुर बुढा, २७ वर्षीय प्रकाश बुढा र ३५ वर्षीय जयबहादुर बढुवाल सम्पर्कमा आएका छन्।
त्यस्तै, छाइलका ३६ वर्षीय जयबहादुर रोकाय, ४२ वर्षीय वीरबहादुर ऐडी, २३ वर्षीय प्रेम रोकाय र १९ वर्षीय पवन रोकाय पनि सम्पर्कमा आएका छन्।
पापुका ३६ वर्षीय बच्चा बुढा, ३४ वर्षीय प्रिय बुढा र १६ वर्षीय सर्जन बुढा आइतबार बिहान नै सम्पर्कमा आएको प्रहरीले जनाएको छ।
दुई जना सम्पर्कविहीन भएको जानकारी पाएलगत्तै मुगु र हुम्लातर्फबाट प्रहरी परिचालन गरी खोजी थालिएको डीएसपी थपलियाले बताए। मिमि क्षेत्र हुम्ला र मुगु दुवै जिल्लाको सीमाक्षेत्रमा पर्ने भएकाले घटनाको अवस्था बुझ्न दुवैतर्फका सुरक्षा निकाय परिचालन भएका छन्।
उच्च हिमाली क्षेत्रमा निरन्तर हिमपात भइरहेका कारण सम्पर्कविहीन दुई जनाको खोजी तथा उद्धारमा चुनौती थपिएको प्रहरीले जनाएको छ।
.gif)

.png)


